close

आउनुस्, गाडी रोकेर धान रोपौँ 

आउनुस्, गाडी रोकेर धान रोपौँ 

Trulli
ADVERTISEMENT

उदयपुर- वर्षातसँगै उदयपुरका अधिकाशं ग्रामिण सडकहरुमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उदयपुरका अधिकाश क्षेत्रमा रहेका ग्रामीण सडक वर्षातका कारणले भएको क्षतिपछि मर्मत हुन नसक्दा जोखिमपूर्ण बनेको हो । 


बर्षाले सडक हिलाम्य हुनुका साथै खाल्डा खुल्डी परेका कारण सदरमुकाम भित्रिने तथा बाहिरिने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ठाउँ-ठाउँमा पहिरो खसेको तथा सडक हिलाम्य भएका कारण यातायातका साधन सञ्चालनमा निकै समस्या भइ रहेको यातायात व्यवसायीको भनाइ छ । 


घाम लागेका बेला जसोतसो गाडी चलाउने गरे पनि पानी परेका बेला गाडी चलाउन निकै समस्या हुने गरेको सवारी चालक लालप्रसाद झाले बताए । ‘धेरै ठाउँमा पहिरो खस्दा सडक साँघुरो भएको छ, उनले भने, ‘धेरै ठाउँमा पहिरोको उच्च जोखिम छ । पानी परेको बेला सडक पूरै हिलाम्य हुने भएकाले गाडी गुडाउन सजिलो छैन । 


सडक निर्माण गरिए पनि सडकको स्तरबृद्धिमा सरोकारवाला निकायको ध्यान जान नसक्दा भगवान् भरोसामा गाडी चलाउनु पर्ने अवस्था रहेको चालकहरूको भनाइ छ । उनका अनुसार दुर्घटना भइ हाले भने ड्राइभरको गल्तीका कारण भयो भन्छन् तर, सडकको स्तरोन्नतिका लागि कसैले चासो दिँदैनन । झाले भन्छन्, ‘कुन ठाउँमा कति बेला के हुने हो भन्न सकिने अवस्था छैन ।’

 

जोखिम मोलेर यात्रा गर्नु बाध्यता रहेको यात्रु बताउँछन । ‘काम विशेषले सदरमुकाम सहित जिल्लाका विभिन्न स्थानमा जानु पर्छ,’ रौतामाई गाँउपालिका आँपटारका केशब राईले भने, ‘हिँडेर जान सकिँदैन, जोखिमपूर्ण भए पनि गाडीमा यात्रा गर्ने पर्ने अवस्था छ ।’ 

 

उनका अनुसार सडकमा सवारी रोकेर धान रोप्नुपर्ने अवस्था छ । भन्छन्, ‘हिलो यति छ कि गाडी रोकेर धान रोप्नुपर्ने खेतजस्ता छन् सडक ।’  जिल्ला सदरमुकामलाई जिल्लाका अन्य गाउँसँग जोड्न उदयपुरमा दर्जनौ बढी ग्रामीण सडक निर्माण भएका छन् । वर्षायाम सुरुसँगै जिल्लाका सबै ग्रामीण सडक आंशिक अवरुद्ध छन् । 

 

त्यसैगरी कटारी-रुपाटार, कटारी-इनामे-मार्झखर्क, कटारी- ठानागाँउ, कटारी- बर्रे, कटारी-नेपालटार, मोतिगडा- फत्तेपुर जाने सडक आंशिक रूपमा सञ्चालनमा रहेको छ । त्यसैगरी बेल्टार-चौदण्डीगढी-रानीटार,सोमबारे-मैनामैनी-मचुङटार, नेपालटार-उदयपुरगढी- डुम्रे, बेल्टार-साउने, मुर्कुचि- माझर्खक, मुकुर्चि- भुट्टार, देउरी- दमौटी, फोक्सिनटार-रसुवा, रसुवा- लाफागाँउ सडक वर्षाले मर्मत हुन नसक्दा यातायात सञ्चालन हुन सकेको छैन ।

 

सडक मर्मत नहुदा समस्या भएको उदयपुर हिमाली यातायात केन्द्रले जनाएको छ । जिल्ला प्राविधिक कार्यलयका उदयपुरका अनुसार गाँउमा सानो सानो लगानीमा निर्माण गरिएका सडक वर्षातमा जोखिमपूर्ण बन्ने गरेका छन । ‘थोरै पैसाले धेरै लामो सडक निर्माण गर्दा गुणस्तरीय नहुदा समस्या हुने गरेको हो ।

 

लगातार परेको वर्षाले उदयपुरको पहाडी भेगका सडक अवरुद्ध हुन पुगेको छ । निरन्तर जस्तो भइरहेको वर्षाले पहिरो जानुका साथै कच्ची सडकमा पानी जमेर हिलाम्य भएपछि  सानाठूला सवारी सञ्चालनमा अबरोध हुन पुगेको हो । भर्खर खनिएका कच्ची सडक रहेको जिल्लाको पहाडी भेगमा जताततै पहिरो र हिलोले चारपाङग्रे त के मोटरसाइकलसम्म सञ्चालन गर्न कठिनाई भइरहेको स्थानीय बताउँछन् । 


पहिरो र हिलोका कारण जिल्लाका लिम्चुङबुङ, ताप्ली, रौतामाई गाउँपालिका केन्द्र जोड्ने सडक अवजरुद्ध भएका छन् । उदयपुरगढी गाउँपालिकाका आन्तरिक सडकहरु सबै चल्न नसक्ने अवस्थामा पुगेका छन् । 

 

वर्षाले पहिरो गएर ती गाउँपालिकाबाट सदरमुकाम गाईघाट आउन पनि धेरै कठिनाई भएको सर्वसधारण बताउँछन् । हिउँदमा धुलाम्य हुने कच्ची सडकहरु वर्षायाममा हिलाम्य हुने समस्या त छदैछ, पहिरो पनि थपिएर सडक अवरुद्ध पारेपछि आउजाउ गर्न धेरै कठिनाई भोग्नुपरेको रौतामाई गाउँपालिका- १ माझखर्कका अस्मिता मगरले बताइन् ।


 सडक अवरुद्ध हुदा अत्यावश्यक सामानहरु गाईघाटदेखि चामल, नुन, तेल लगायत उपभोग्य गाउँमा पुर्‍याउन सकिएको छैन । स्थानीयका अनुसार गाउँपालिकाका आन्तरिक तथा अन्तरपालिका स्तरीय दर्जनौं सडकहरु पहिरो र हिलोले सवारी सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन् । 


रौतामाई र लिमचुङबुङ जोड्ने रौता-भुट्टार-लाफागाउँ-जाँते खण्ड, बाराहा-माझखर्क-पुँवारे भन्ज्याङ, उदयपुरगढी-रौतामाई, उदयपुरगढी-ताप्ली जोड्ने सडक र कटारी-ताप्ली जोड्ने सडकहरु वर्षाले हिलाम्य भएर मोटरसाईकल नै आउजाउ गर्न नसक्ने अवस्थामा पुगेका छन् । 


लिमचुङबुङका जाँते-माझखर्क-बाराहा खण्ड, माझखर्क-बाराहा-बलम्ता, बाराहा-ताम्लीछा-बाँसबोटे र जाँते-बलम्ता-ताम्लीछा खण्डका आन्तरिक सडकहरुको पनि हालत उस्तै रहेको स्थानीय बताउँछन् ।  


उता उदयपुरगढी-डुम्रे, गढी-बर्रे, गढी-तावाश्री जोडिएका आन्तरिक सडकहरु पहिरोसँगै हिलोले आउजाउमा अवरोध गरेको उदयपुरगढीका प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए । त्यस्तै ताप्लीका रुपाटार-ओख्ले, कटहरे-रुपाटार, रुपाटार-इनामे बिभिन्न स्थानीयतहको सदरमुकामसँग सम्बन्ध बिच्छेद भएको छ । 

 

रौतामाईका भुटार-लाफागाउँ, लाफागाउँ-रसुवा-आँपटार खण्ड पनि वर्षाले अवरुद्ध छ ।  हिउँद बर्खा दुवै याममा फोरह्विलसहितका बोलेरो जीप र ट्याक्टर मात्र चल्ने ती सडकहरुमा अहिले ती पनि चल्न नसक्ने अवस्था आएको यातायात व्यवसायी बताउँछन् । 


उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटका अनुसार वर्षाका कारण आएको बाढी पहिरो र डुबानका कारण पहाडी भेगसँगै समथर ठाउँका सडकमा समेत यातायात सञ्चालनमा कठिनाइ भइरहेको छ । केन्द्रका महासचिव उमेश बस्नेत लकडाउनबाट विस्तानरै बहुरिदै गरेको यातायात क्षेत्र निरन्तर वर्षा भएपछि पुन थलिएको छ भने यात्रु मारमा परेका छन् ।