close

तनहुँमा १२ पुल शिलान्यासको चटारो तर निर्माणमा छैन हतारो

तनहुँमा १२ पुल शिलान्यासको चटारो तर निर्माणमा छैन हतारो

Trulli
ADVERTISEMENT

तनहुँ–सडक सञ्जालबाट सम्पर्क विच्छेद हुने जरेवरका बासिन्दालाई यो बर्खामा पक्की मोटरेबल पुलबाट खोला तर्न पाउने आश थियो । भीमाद नगरपालिका वडा नम्बर ८ थामडाँडा र शुक्लागण्डकी नगरपालिका वडा नम्बर ११ जरेबर जोड्ने गरी वर खोलामा शिलान्यास गरेको पुल गत २२ असारमा सक्नुपर्ने सम्झौता हो ।

 

मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेञ्चर पोखराले ठेक्का लिएको यो पुलको ४ वटा पिल्लर ठडिनेबाहेक काम भएको छैन । यतिबेला खोलामा उर्लेको भेलले कामसमेत रोकिएको छ । 

 

हिउँदमा कुलो भएर बग्ने बुडुवा खोला यतिबेला तर्न नसक्ने अवस्थामा छ । यहाँका स्थानीय घाँसदाउरा र मेलामात गर्न बन्दै गरेको अधुरो पुलबाट जोखिम मोलेर तर्न बाध्य छन् । बुडुवा खोला तरेर लोकतान्त्रिक मोटरमार्गमा सवारी गुडाउने चालकलाई पनि दुःख छ ।

 

वर्षौंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागलाई सुनुवाइ गर्दै गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास गरियो । गणेश कुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा सकिएको छ ।

 

पुलको काम सक्न १५ प्रतिशत बढी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमराज सेन ठकुरीले बताए । ‘यतिबेला पुल बनाएर सकिन्थ्यो होला । बाढी आएर काम रोकियो’, उनले भने । पुल र सडकको बिचमा फिल्डिङ गर्ने काम बाँकी रहेको उनी बताउँछन् । 

 

ऋषिङ गाउँपालिका वडा नम्बर ४ मधुवन र ५ रुपटार जोड्ने गरी ज्वाला खोलामा निर्माण थालिएको मोटरेबल पुलको पनि सम्पन्न गर्नुपर्ने मिति कटेको छ । ठेक्का सम्झौताअनुसार गत २५ असारमा यो पुल ठडिएर मोटर गुड्न थाल्नुपर्ने हो ।

 

तर, पनि पुल तत्कालै सम्पन्न हुने छनक देखिन्न । ज्वाला खोलासहित शालिकराम करिडोरमा मात्र ४ वटा पुल शिलान्यास गरिएको थियो । हालसम्म एउटा पनि सम्पन्न भएको छैन ।

 

रिस्ती खोलामा मात्रै दुई पुल शिलान्यास भए । दुवै पुल निर्माणाधीन अवस्थामा छन् । तनहुँमा यीलगायत गत आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारको लगानीमा मोटरेबल पुल शिलान्यासको लहर चलेको थियो ।

 

जिल्लाका १२ नदी, खोलामा मोटरेबल पुल बनाउन थालिएको हो ।  तर, एउटा पनि सम्पन्न नभएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । ६ वटा पुल असारमा सकिनुपर्ने थियो ।

 

३ वटा अबको असोजसम्म सम्पन्न गर्ने म्याद छ । बाँकी पुलको म्याद आगामी आर्थिक वर्षसम्म छ । कोरोनाका कारण पुल निर्माणमा ढिलाइ भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगाना बताउँछन् । उनी भन्छन्, ‘कोरोना कहरमा निर्माण कम्पनीले काम गर्न खोजेका हुन् । लक्ष्यअनुसार सकेनन् ।’ 

 

निर्माणाधीन सबै पुलको कार्यप्रगति सन्तोषजनक देखिएको उनले बताए । कोरोना कहरमा म्याद सकिएका निर्माणाधीन योजनालाई सरकारको निर्णयअनुसार ६ महिना फेरि म्याद थपिने उनले जानकारी दिए । म्याद सकिएका पुल ६ महिनाभित्र सम्पन्न हुने गरी काम गर्न निर्देशन दिने उनको भनाइ छ ।

 

गत वर्ष शिलान्यास भएका २ वटा पुलको काम भने अन्तिम चरणमा पुगेको छ । रिस्ती खोला सोती पसल र बुडुवा खोला लोकतान्त्रिक पुलको काम अन्तिम चरणमा पुगेको ढुंगानाले जानकारी दिए । ‘दुवै पुलको ९० प्रतिशत काम भएको छ । अब स्ल्याब राख्ने काम मात्र बाँकी हो’, उनले भने ।

 

१२ पुललाई २९ करोड १ लाख २९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । यो आर्थिक वर्ष प्रदेश सरकारले ती पुललाई २६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । सबै पुल सम्पन्न गर्न ८९ करोड ६६ लाख ६१ हजार २ सय ४० रुपैयाँमा सम्झौता भएको हो । 

 

चालू वर्षमा पनि गण्डकी प्रदेश सरकाले तनहुँका १४ मोटरेबल पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ । १४ पुललाई ३ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय तनहुँले जानकारी दिएको छ ।

 

बजेट विनियोजन भए पनि पुलको उपयोगिता अध्ययन गरी माटो परिक्षण भएपछि डिपिआर तयार भई स्रोत सुनिश्चितता हुदाँ बल्ल पुल निर्माणको काम थालनी हुने जनाइएको छ ।