close

सचिव माग्दै कुश्मा नगरपालिकामा तालाबन्दी

सचिव माग्दै कुश्मा नगरपालिकामा तालाबन्दी

Trulli
ADVERTISEMENT

पर्वत– लामो समयदेखि वडा सचिव नपाएको विरोधमा कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोटका जनप्रतिनिधि र स्थानीयले कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन् ।

 

नगरपालिकाको कार्यालयमा आइतबार दिउँसो तालाबन्दी गरिएको हो भने वडा कार्यालयमा समेत स्थानीयले ताला लगाएका हुन् । वडाध्यक्ष यदुनाथ शर्मा बास्तोला नेतृत्वको स्थानीयले कुश्मा नगरपालिकाको मुल गेटमा ताला लगाएको हो ।

 

गत १४ कात्तिकदेखि स्वास्थ्य चौकीका इन्चार्जलाई काजमा खटाएर अहिलेसम्म वडा सचिव नपठाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराउन तालाबन्दी गर्नुपरेको वडाध्यक्ष बास्तोलाले बताए ।

 

नगरपालिकाले काजमा खटाएका स्वास्थ्य चौकीका इन्चार्ज टेकनाथ सुवेदीले वडा र स्वास्थ्य चौकीको काम हेर्न नभ्याएको बताउँदै आएका छन् । 

 

नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रसासकीय अधिकृतसमक्ष धेरै पटक सचिवको माग गरे पनि ९ महिनासम्म सचिव नखटाएपछि वडाका जनप्रतिनिधिसहित आएका खुर्कोटवासीले तालाबन्दी गरेका हुन् । 

 

सचिव नहुँदा दैनिक प्रशासनिक कामकाजमा समस्या भएको वडाध्यक्ष बास्तोलाले गुनासो गरे । वडा कार्यालयमा कार्यरत सचिव सञ्जु शर्मा कोभिड संक्रमित भएर कार्यालयमा आउन नपाएकाले यो अवस्था सिर्जना भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिए ।

 

कार्यालयले खटाएका सचिव निको भएपछि हाजिर हुने भएकाले स्थानीयलाई आक्रोशित नबन्न उनको आग्रह छ । सचिव यथाशीघ्र हाजिर गराउने आश्वासनपछि कार्यालयमा लगाएको ताला साँझ खोलिएको थियो । वडा कार्यालयको ताला भने खोलिएको छैन ।