close

नमोबुद्धमा अशक्तलाई घरघरमै भत्ता

नमोबुद्धमा अशक्तलाई घरघरमै भत्ता

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरबासीका लागि घरघरमै पुगेर भत्ता वितरण गर्न थालेको छ । गत आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेका लागि घरघरमै मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गर्न थालिएको हो । 

 

सोही क्रममा आइतबार वडा नम्बर २ का २० जनालाई लुम्बिनी विकास बैंकका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको छ । 

 

बैंकसम्म जान नसक्ने दीर्घरोगी तथा पूर्ण अपांगता भएका व्यक्तिलाई घरमै पुगेर भत्ता वितरण गर्न थालिएको नगरपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले जानकारी दिए ।

 

नमोबुद्ध नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा ३ हजार २ सय ९१ जना छन् । त्यसमध्ये मासिक ३ हजार भत्ता पाउने ७० वर्षमाथिका ज्येष्ठ नागरिक १ हजार ९ सय २ जना छन् भने २ हजार रुपैयाँ मासिक सामाजिक सुरक्षा भत्ता पाउने ६० वर्षमाथिका दलित ज्येष्ठ नागरिकको संख्या १ सय २१ छ ।

 

 

यस्तै, २ हजार मासिक भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला ३ सय ९३ तथा २ हजार भत्ता पाउने विधवा ५ सय २ जना छन् । 

 

यसैगरी मासिक ३ हजार भत्ता पाउने पूर्ण अपांगताको संख्या ७१, मासिक १६ सय पाउने आंशिक अपांगताको संख्या ७५ तथा मासिक ४ सय रुपैयाँ भत्ता पाउने दलित बालबालिका (जन्मेदेखि ५ वर्षसम्मका) को संख्या २ सय २७ छ । 

 

नगरपालिकाले २०७५ देखि नै अशक्त र दीर्घरोगीलाई घरघरमै बैंकका कर्मचारीसहित पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । आइतबार २ नम्बरबाट सुरु भएको भत्ता वितरण कार्यक्रम ११ वटै वडामा क्रमशः सञ्चालन हुनेछ । 

 

नगरपालिकाले ज्येष्ठ नागरिक, अपांगलगायतका लागि विगतदेखि नै विशेष कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नगरपालिकाले विगतदेखि नै मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ । 

 

यो वर्षदेखि ज्येष्ठ नागरिकका लागि मुस्कानसहितको सेवाअन्तर्गत दाँत राख्ने, कान नसुन्नेका लागि सहयोगी उपकरण व्यवस्था गर्नेलगायत योजना अघि सारेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।