close

खर्क पुगेर गोठालाको स्वास्थ्य जाँच गर्दै छन् हुम्लाका डाक्टर 

खर्क पुगेर गोठालाको स्वास्थ्य जाँच गर्दै छन् हुम्लाका डाक्टर 

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको स्वास्थ्य शाखाले ३ हजार ५ सय १० मिटर उचाइको रानीखर्क पुगेर चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले गोठालाको स्वास्थ्य चेकजाँच गरेको छ । 


गत जेठदेखि रानीखर्कमा पशु हेर्दै आएकी नाम्खा गाउँपालिका वडा नम्बर ३ की खान्डो लामाले बिरामी पर्दा स्थानीय जडीबुटीमा भर पर्ने गरे पनि चिकित्सकसँग स्वास्थ्य समस्या साट्न पाउँदा खुसी लागेको बताइन् ।


बझाङ, बाजुरा र हुम्लाको सिमाना रानीखर्कमा पुगेर खर्कालुको उपचार गर्ने व्यवस्था गरिएको थियो । नाम्खाको स्वास्थ्य शाखाको पहलमा उच्च स्थानमा रहेको खर्कमै पुगेर उपचार गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।


गाउँपालिका केन्द्र याल्बाङबाट एक दिन पैदल हिँडेर चिकित्सकको टोलीले रानीखर्क पुगेर उपचार गरेको हो । डाढ दुख्ने रोगले पीडित लामाले खर्कमा घरेलु उपचार गर्दा सन्चो नभएका बेला चिकित्सकले निको बनाएको सुनाइन् ।


उच्च स्थानमा पशुपालन गर्दै आएका सबै खर्कालाले उपचार पाएका हुन् । बाथ रोगले बिरामी परेकी पेमा लामाले खर्कमा पहिलो पटक उपचार गर्न पाएको बताइन् । आफू बसेकै ठाउँमा डाक्टर आउँदा भगवान् आएजस्तो भएको उनले सुनाइन् ।


यसअघि बिरामी हुँदा घरमा खबर गरेर औषधी झिकाउने वा जटिल बिरामी भए डोकोमा बोकेर स्वास्थ्य चौकी तथा जिल्ला अस्पताल पुर्‍याउनुपर्ने अवस्था रहेकामा खर्कमै उपचार गर्न पाउँदा सहज भएको उनको भनाइ छ ।


गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाले खर्कमा बस्दै आएका नाम्खा, सीमकोट एवं खार्पुनाथ गाउँपालिका गोठाला र जडीबुटी संकलन गर्न पुगेका बाजुरा र जुम्लाबाट आएकाहरूको उपचार भएको जानकारी दिए ।


उपचारकै लागि गाउँपालिकाले चिकित्सकको व्यवस्था गरेर चेकजाँच सञ्चालन गरेको हो । सबै खर्कालामा केही न केही समस्या देखिएको बताउँदै उनले स्वास्थ्य जाँचपछि औषधी उपलब्ध गराइएको बताए ।


बालबालिकादेखि ८० वर्ष उमेरका १५२ खर्कालाको निःशुल्क उपचार गरिएको थियो । खर्कमा बाथ, दम, ग्यास्ट्रिक, रुघाखोकी, एलर्जीका बिरामीको उपचार गरिएको थियो । खर्कालालाई परिवार नियोजनका साधन पनि वितरण गरिएको थियो ।


बिरामीको उपचारका लागि रानीखर्क पुगेका डा. नितेश घिमिरेले स्वास्थ्यकर्मी र औषधीसहित टोली पहिलो पटक उच्च स्थानमा आएकबो जानकारी दिए । गाउँपालिका अध्यक्ष लामा, उपाध्यक्ष पेमा लामा, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेसमेत सोही टोलीमा रानीखर्क पुगेका थिए ।