close

१८ वर्षदेखि अलपत्र छ उदयपुर र सप्तरी जोड्ने छोटो मार्ग 

१८ वर्षदेखि अलपत्र छ उदयपुर र सप्तरी जोड्ने छोटो मार्ग 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुर र सप्तरी जिल्लालाई जोड्ने सबै भन्दा छोटो दुरीको गाईघाट शम्भुनाथ सडक ओझेलमा परेको छ । लामो समयदेखि चर्चामा रहेता पनि स्थानीय तह निर्माणपछि सडक ओझेलमा परेको हो । करीब १८ वर्ष यता पटकपटक चर्चामा आएको गाईघाट शम्भुनाथ सडक सर्भे पुरा भए र पनि काम भएको छैन ।  

 

स्थानीयस्तरबाट माग भएपछि उदयपुर र सप्तरी तत्कालीन जिविसले लगानी गरेर सडक निर्माण गर्ने योजना अगाडी बढाइएको थियो । तर, स्थानीय स्थानीय तह निर्माणपछि गाईघाट शम्भुनाथ सडक पनि आझेलमा परेको हो । खास गरेर उदयपुर र सप्तरी जिल्ला सदरमुकाम जोड्ने छोटो मार्ग निर्माण गर्ने उद्देश्यले तत्कालिन दुवै जिविसले योजना अघि सारेको थियो ।

 

अन्तिम सर्भे समेत भएको यो सडकको चर्चा अहिले सेलाएको छ । पूर्वपश्चिम लोकमार्गको सप्तरीको कन्चनपुर कदमहा खण्डको शम्भुनाथबाट उदयपुरको मिलनचौक जोड्ने उद्देश्यले सडक निर्माण योजना अगाडी सारिएको थियो । सडक निर्माणको लागि डिटेल सर्भेक्षण र वातावरणीय असर प्रभाव मूल्यांकन समेत भएको तत्कालिन जिविस उदयपुरले जनाएको थियो ।  


दुई जिल्ला जोड्ने झण्डै १३ किलोमिटर मात्रै ट्रयाक खोल्न सके सडक निर्माण हुने स्थानीयबासिन्दाले बताए । मुख्य गरेर दुई जिल्लाको सिमानामा पर्ने चुरे पहाडमा सडक ट्रयाक खोले मात्रै पुग्ने बताए । शम्भुनाथदेखि चुरेसम्म पहिलेदेखि नै स्थानीयस्तरबाट सडक निर्माण भइ सकेको छ ।  त्यसैलाई तत्कालिन सप्तरी जिविसले लगानी गरेर सडक चौडा बनाउने र स्तरबृद्धि गर्ने काम गरि सकेको छ । त्यसैले चुरेमा सडक खोल्न सके शम्भुनाथ गाईघाट सडक निर्माण हुने थियो ।  

 

प्रजातन्त्र प्राप्तिपछि पहिलो पटक निर्वाचित स्थानीय निकायले शम्भुनाथ गाईघाट सडकलाई प्राथमिकता दिएको तत्कालिन जिविस उदयपुरका पूर्व सदस्य केशब राई बताउँछन् । तत्कालीन दुवै जिविसले सडक निर्माणलाई प्राथमिकतामा राखेर पटक पटक बैठक, अन्तर्क्रिया र छलफल गरेका थिए । स्थानीय तह कार्यान्वयनमा आएपछि भने यो ओझेलमा परेको छ । स्थानीय तहले चासो नराखेकोले सडकको सर्भे पूरा भइसकेको सडक निर्माण हुन नसकेको हो ।  


सडक निर्माणका लागि वातवरणीय प्रभाव मूल्यांकन पास नभएकोले काम रोकिएको हो । सडकका लागि वातावरणीय प्रभाव मूल्यकन गरेर विभाग पठाइएकोमा त्यहाबाट पास भएर नआएकोले काम अगाडी नबढेको बताइएको छ  । अहिले पूर्वपश्चिम लोकमार्ग भेट्टाउन कदमहाबाट गाईघाटसम्म करिब २७  किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ । तर, शम्भुनाथ गाईघाट सडक संचालन हुने हो भने १९ किलोमिटरमै सिमित हुने र ट्राफिक समस्या समेत नहुने स्थानीयबासीको दाबी गरेका छन् । 

 

कदमहा गाईघाट सडक सरकारी स्तरबाट निर्माण भएको मुलुककै ठूलो उदयपुर सिमेन्ट उद्योगको कच्चा पदार्थ र तयारी सिमेन्ट ओसारपसार गर्ने क्रममा सवारी आवगमनमा व्यस्त हुने गर्दछ । त्यसैले पनि विकल्पका रुपमा शम्भुनाथ गाईघाट सडक निर्माण गरेर संचालन गर्नुपर्ने त्रियुगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष घमानसिंह खत्री बताउँछन् ।