close

६६३ स्थानीय तहमा पुग्यो इन्टरनेटको पहुँच

६६३ स्थानीय तहमा पुग्यो इन्टरनेटको पहुँच

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित अघि बढाएको परियोजनाअन्तर्गत असार मसान्तसम्म ६६३ वटा स्थानीय तहमा इन्टरनेटको पहुँच पुगेको बताएको छ ।   


प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको हो । प्याकेजअन्तर्गत असार मसान्तसम्म ९४ दशमलव ४४ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान भइसकेको छ ।   


 १८ वटा प्याकेजमध्ये १५ प्याकेजअन्तर्गत ६० जिल्लाका तोकिएका स्थानमा १०० प्रतिशत तथा दुई प्याकेजअन्तर्गत १० जिल्लामा ५० प्रतिशतभन्दा बढी स्थानमा इन्टरनेट जडान गरिएको छ । यस्तै, चार जिल्लाका तोकिएका स्थानमा सञ्जाल विस्तारका लागि सेवाप्रदायक छनोट भई निर्माण भइरहेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।   


उनका अनुसार १८ वटा प्याकेजका १५ हजार ९८२ स्थानमध्ये हालसम्म १४ हजार २१८ स्थानमा इन्टरनेट जडान भइसकेको छ भने १ हजार ७६४ स्थानमा इन्टरनेट जडान गर्न बाँकी छ । ७०२ स्थानीय निकायमध्ये असार मसान्तसम्म ६६३ स्थानमा इन्टरनेट जडान भइसकेको र ३९ वटा स्थानीय तहमा जडान भइरहेको उनले बताए ।   


यसैगरी ५ हजार ९३३ वटा वडा कार्यालयमध्ये हालसम्म ५ हजार २६४ स्थान, ५ हजार २२५ वटा माध्यमिक विद्यालयमध्ये ४ हजार ६४० वटा विद्यालय र ४ हजार १२२ स्वास्थ्य संस्थामध्ये ३ हजार ६५१ मा इन्टरनेट जडान भइसकेकोे छ ।


सम्पन्न भइसकेका परियोजनामध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइसकेको, दुई परियोजनाको प्राधिकणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरणअन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको र दुई परियोजनाको दोस्रोचरणअन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको छ ।   


कुल ५ अर्ब २६ करोड ९७ लाख ७० हजारमध्ये हालसम्म ३ अर्ब ३८ करोड ८७ लाख रुपैयाँ ब्रोडब्यान्ड परियोजनाका लागि सेवाप्रदायकलाई भुक्तानी गरिएको प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिए ।


उनका अनुसार उक्त परियोजनाअन्तर्गत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो । परियोजनामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई समेटिएको छैन ।