close

उद्योग खुलाेस् त झापामा जस्ताे ! (भिडियाे खबर)

उद्योग खुलाेस् त झापामा जस्ताे ! (भिडियाे खबर)

ADVERTISEMENT

झापा- कोरोना भाइरसको महामारीले दुई वर्षदेखि विश्वलाई गाँजिरहेको छ । अझ, नेपाल जस्तो विकासशील राष्ट्रलाई त महामारीले आर्थिकसँगसँगै सामाजिक असर गर्यो । धेरैको रोजगारी गुम्यो । धेरैको व्यवसाय चौपट भयो । देशको अर्थतन्त्र पनि महामारीका कारण अझै उकासिन सकेको छैन । विदेशमा रोजगारी गरेको कति नेपाली बेरोजगार बन्दै स्वदेश फर्किए । 


तर, महामारीले धेरैलाई विदेशमा नभई नेपालमा नै उद्योगी बन्ने ठूलो अवसर प्रदान गर्यो । जसको सदूपयोग गाउँगाउँमा भइरहेको छ । झापामा पनि अहिले उद्यमी बन्न चाहनेको संख्या बढ्दै गएको छ भने उद्योग दर्ताको गर्नेको संख्यामा अस्वभाविक वृद्धि भएको छ । झापामा गत आर्थिक वर्ष ७७/७८ मा मात्रै २ हजार २ सय ३४ वटा वाणिज्य दर्ता भएको छ । 


झापामा पछिल्लो समय उद्योग दर्ता गर्नेको संख्या बढेको छ । उद्योग दर्ता सँगै वाणिज्य दर्ता गर्नेको संख्या समेत बढेको तथ्याङ्कले देखाएको छ । स्थानीय तहले कृषि र महिला उद्योगका व्यवसायीका लागि विभिन्न अनुदानका कार्यक्रम ल्याएपछि स्थानीयहरू व्यावसायिक हुन थालेका छन् । त्यससँगै सरकारी नीतिले बैँक तथा वित्तीय संस्थाले दिने ऋणमा पनि महिलालाई सहज बनाइदिएकाले व्यावसायिक बन्ने क्रम बढेको देखिन्छ । 

 

आर्थिक बर्ष ०७६/०७७ को तुलनामा ०७७/०७८ मा उद्योग दर्ता मात्र करिब ५० प्रतिशतले बढेको छ । त्यस्तै वाणिज्य दर्ता गर्नेको संख्या दोब्बरले नै बढेको छ । आर्थिक बर्ष ०७६/०७७ मा जम्मा ९ सय १५ वटा वाणिज्य दर्ता भएकोमा आर्थिक वर्ष ०७७/०७८ मा मात्रै २ हजार २ सय ३४ वटा दर्ता भएका छन् । कोरोना कहरपछि तिनै वटा तहको सरकारको प्राथमिकतामा कृषि भएपछि अनुदान कार्यक्रमले दर्ता बढेको कार्यालयको बुझाइ छ । 


त्योसँगै कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा परेको असरले पनि युवालाई सानो ठूलो जस्तो भएपनि स्थानीय ठाउँमै व्यापार व्यवसाय गर्ने उद्देश्यले संख्या बढदै गएको घरेलु तथा साना उद्योग कार्याले बताएकाे छ । झापा जिल्ला आपैmमा कृषिका लागि उपयुक्त जिल्ला हो । यहाँ कृषिमा आधारित उद्योग र व्यवसाय पछिल्लो समय अत्यधिक बढेका छन् । ग्रामीण भेगमा पनि कृषि उद्योग खुल्ने क्रम बढेको तथ्याङ्कले समेत देखाएको छ । 


व्यावसायिक तरकारी खेती, माछा तथा कुखुरा पालन, गाई पालन लगायतका व्यवसायमा कृषक स्वरोजगार बन्नुका साथै स्थानीय तहको सहयोग पनि अत्यधिक छ । आर्थिक वर्ष ०७६/०७७ मा कृषिमा मात्रै जिल्लाभर ५ सय ८६ वटा फर्म दर्ता भएकोमा अहिले तीन गुणाले बढी फर्म दर्ता भएको छ । ०७७/०७८ मा १ हजार ९ सय ३ वटा दर्ता भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । 


त्यति मात्र होइन अहिले महिलाको नाममा उद्योग दर्ता गर्नेको संख्या पनि बढेको छ । महिलालाई व्यवसायमा प्रेरित गर्ने र आत्मनिर्भर बनाउने सरकारी योजना अनुरुप व्यवसायीको संख्या बढेको हो । पुरुषको नाममा रहेको व्यवसाय महिलाको नाममा नामसारी गर्नेको संख्या समेत पछिल्लो समय बढेको देखिएको छ ।