close

सैनामैनालाई ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

सैनामैनालाई ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

Trulli
ADVERTISEMENT

रूपन्देही(सैनामैना)- रूपन्देहीको सैनामैना नगरपालिकालाई कोभिड- १९ रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय युवा परिषद् नेपालले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।


परिषद्ले नगरको वडा नम्बर १ पद्यमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा सञ्चालित कोभिड-१९ अस्थायी अस्पताललाई ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । 


युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले सैनामैना नगरपालिका नगरप्रमुख चित्रबहादुर कार्कीलाई उक्त सामग्री प्रदान गरेका हुन् । 


उपाध्यक्ष माधव ढुंगेलले नगरमा कोभिड-१९ रोकथाम तथा न्यूनीकरणमा थप सहयोग होस् भन्ने उद्देश्यले ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको बताए ।


कोभिड न्यूनीकरणका लागि कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । उनले विपद्का बेला स्थानीय सरकारलाई जे सकिन्छ, त्यही उपलब्ध गराउनु परिषद्को दायित्व रहेको बताए ।


हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीअन्तर्गत सेमिफोल्डिङ बेड ४० थान, आइभी स्ट्यान्ड ४० थान, स्यानिटाइजर १० थान, फेस सिल्ड ५ सय थान, मास्क १ सय थान, पिपिई १ सय थान, गुगल्स ५ सय थान, पल्स अक्सिमिटर ५० थान र इग्जामिनेसन ग्लब्स १ सय थान छन् । 


नगरमा कोभिडको उपचारका लागि पर्याप्त उपकरण नभएको अवस्थामा परिषद्को सहयोगबाट महामारी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।


कार्यक्रममा परिषद्का उपसचिव देवीप्रसाद अधिकारी, प्राकृतिक चिकित्सालयका अध्यक्ष रामप्रसाद भट्टराई, परिषद्का कार्यकारी सदस्य तिलोत्तमा पौडेल, बाबुराम बञ्जाडे, सन्दीप सापकोटा, परिषद्को जिल्ला युवा समिति रुपन्देहीका अध्यक्ष सरोज पोखरेल, पूर्वअध्यक्ष वसन्त ढकाललगायत नगरका जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, कर्मचारीको सहभागिता थियो । 


कार्यक्रम नगर उप-प्रमुख बिना रानाको स्वागत तथा नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।