close

संरक्षणको पर्खाइमा धार्मिक पर्यटकीय स्थल खत्रक्पा

संरक्षणको पर्खाइमा धार्मिक पर्यटकीय स्थल खत्रक्पा

Trulli
ADVERTISEMENT

इलाम– इलामको किरात धार्मिक पर्यटकीय स्थलको रूपमा चिनिएको खत्रक्पा पूर्वाधार अभावमा अलपत्र बन्दै गएको छ । देउमाई नगरपालिकाको ९ नम्बर वडा माई र देउमाई खोलाको किनारमा अवस्थित खत्रक्पा संरक्षण अभावमा जीर्ण बन्दै गएको हो ।

 

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले ज्ञान प्राप्त गरेको खत्रक्पा पूर्वाधार अभावमा संरक्षण गर्न बारिएको गह्रो, ढोका, गेट, खोला किनारको कुवालगायत पूर्वाधार भत्किन थालेको स्थानीय लोकबहादुर लिङ्देनले बताए ।

 

पूर्वाधार अभावमा खुला अकासलाई छानो बनाएको लामपातेकै फेदमा भक्तजनले थान थापेर पूजा गर्दै आएका छन् । भाकल पूरा गर्न पुग्ने तीर्थालुले ठाउँ अभावमा खोलाको किनार खुलै ठाउँमा पूजाआजालगायत धार्मिक क्रियाकलाप गर्दै आएका छन् ।


पूजाका लागि मन्दिर र बस्ने ठाउँ अभावमा वर्षौंदेखि भक्तजनको समस्या समाधानमा स्थानीय सरकारको चासो नदिएको संरक्षणमा लागेका स्थानीय गंगा प्याकुरेल बताउँछन् । 

 

महागुरु फाल्गुनन्दले ज्ञान प्राप्त गरेको खत्रक्पामा पुगेर पूजाआजा गरे मनले चिताएको पुग्ने, भगवान्सँग मागेको कुरा प्राप्त हुने जनविश्वाससहित बर्सेनी हजाराँै किरात धर्मावलम्बी पुग्ने गरे पनि सहज रूपमा धार्मिक त्रियाकलाप गर्न सकेका छैनन् । 

 

धार्मिक पर्यटकीय स्थलको पहिचान बनाउँदै गरेको खत्रक्पाको आवश्यक संरक्षण र विकासमा सरोकारवालाले चासो नदिँदा अलपत्र पर्न थालेको महागुरु फाल्गुनन्द ज्ञानभूमि खत्रक्पा धार्मिक पर्यटकीय संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष काजीमान लिङ्देनलले जानकारी दिए ।


धार्मिक आस्थाले हेरिने माईखोलाको किनारमा अवस्थित खत्रक्पा माई नगरपालिका र देउमाई नगरपालिकासँगै माङ्सेबुङ गाउँपालिकाको संगम स्थल पनि हो । 
यहाँ बर्सेनि माघे संक्रान्तिको अवसर धार्मिक मेलासमेत लाग्ने गरेको छ ।

 

भक्तजन र तीर्थालुको सहजताका लागि संरक्षण र विकासमा लागेको महागुरु फाल्गुनन्द ज्ञानभूमि खत्रक्पा धार्मिक पर्यटकीय संरक्षण सम्वद्र्धन समितिको प्रयास सार्थक हुन सकेको छैन ।


संरक्षणमा ध्यान नदिइए धार्मिक, ऐतिहासिक महत्त्वको खत्रक्पा बगरमा परिणत हुने सम्भावना छ । प्रत्येक हिउँद झापाबाट माई नगरपालिका र सदरमुकाम इलाम बजारबाट जीतपुर नवमी बजार हुँदै सवारी साधनमा पुग्न सकिने यो ठाउँको विकास गर्न सरकारी लगानी आवश्यक रहेको वडा सदस्य हेमराज लिम्बूले बताए ।

 

खोलाको जोखिम खेपिरहेको खत्रक्पालाई संरक्षण गर्न अहिलेसम्म ८ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । यसमा माई नगरपालिकाले ७ लाख र देउमाई नगरपालिकाले १ लाख ५० हजार खर्च गरेका छन् ।


तर, भौगोलिक रूपमा अप्ठेरो ठाउँ रहेकाले संरक्षणका लागि सरकारी तवरबाट ठूलै धनराशि खर्च गर्नुपर्ने देखिन्छ । किरात समुदायमा धर्मदर्शनसँगै समाज सुधारको काम गरेका फाल्गुनन्दले बाल्यकालमा खत्रक्पामा रहेको लामपातेको रुखको फेदमा आध्यात्मिक शिक्षा लिएको बताइन्छ । उनले यसै स्थानमा किरात सिरिजंगा लिपि र भाषाको ज्ञान प्राप्त गरेको जानकारको भनाइ छ ।