close

कफी फलाउँछौं, उद्यमी बढाउँछौं (भिडियो वार्ता)

कफी फलाउँछौं, उद्यमी बढाउँछौं (भिडियो वार्ता)

ADVERTISEMENT

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटासँग कोरोना भाइरस रोकथाम र नियन्त्रणमा पालिकाका योजना, बजेट, पालिकाको पूर्वाधार र सामाजिक विकासको अवस्थालगायतका विषयमा गरिएको कुराकानी :

 

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरको चुनौती दिइसकेको छ । पालिका संक्रमणबाट अहिलेपनि मुक्त छैन, अब तेस्रो लहरसँग जुध्न कस्ता तयारी गरिरहनु भएको छ ?

नगरपालिकाले कोरोना महामारीविरुद्ध व्यवस्थित र योजनाबद्ध ढंगले प्रतिरोध गर्ने काममा लागिपरेका छौँ । यो पालिकामा हामीले १५ शय्याको अस्पताल बनाएका छौँ । स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेका छौँ । स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न हामीले अघि बढाएका छौँ । पीसीआर परीक्षणको दायरा बढाएका छौँ । शव व्यवस्थापन लगायतका काम पनि अघि बढाएका छौँ । जे होस् हामीले व्यवस्थित रूपमा नै काम गरिरहेका छौँ । संघीय र प्रदेश सरकारको निर्देशनलाई पालना गरेर अघि बढेका छौँ । 


यसपटको बजेट र नीति तथा कार्यक्रममार्फत मुसिकोटको पहिचानका रुपमा अर्ग्यानिक उत्पादन बनाउने भन्नुभएको छ, यो के-केमा हो  र कसरी काम गर्दै हुनुहुन्छ ? 

खासगरी, मुसीकाेट कफिको जननी हो । नेपालमै नगरपालिकाको वडा नम्बर ५ कफीको उद्गम स्थल हो । हाम्रो पहिचानको रुपमा विकसित गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विस्तार गर्न उत्पादन बढाउने योजना बनाइरहेका छौँ । भण्डारीकरण र बजारीकरणमा जोड दिएका छौँ । 


कृषि र उद्योगका जोड दिँदै जनतालाई उद्यमशील बनाउने महत्वाकांक्षी योजना छ, विगतमा केही काम पनि भएका छन् । कार्यकालको अन्तिम वर्षमा पनि हुनुहुन्छ । नागरिकलाई उद्यमशील बनाउन कस्ता काम गर्दै हुनुहुन्छ ?

मुसिकोट नगरपालिकाले दायित्व अभियान भन्ने संस्थासँग सहकार्य गरेर केही दिन अघि मात्रै उद्यमीबीच प्रतिस्पर्धा गरायौँ । मानिस अनुदानमा मात्रै आश्रित हुने, सदुपयोग नगर्ने हुँदा हामीले १ सय २५ जना उद्यमीबीचमा उत्कृष्ट ४० छनोट गर्यौँ । त्यसबाट २०, १० हुँदै २ जनालाई छनोट गर्यौँ । बजार व्यवस्थापन गर्ने कुरा, व्यावसायिक योजनालाई हामीलाई ध्यान दिएर उद्यमीलाई सहुलियतमा कर्जा, तालिम, प्राविधिक टोली, यन्त्र खरिदमा अनुदान लगायतका कार्यक्रम अघि सारेका छौँ । उद्यमीलाई आवश्यक पर्ने सबै सहयोग गरेका छौँ । 


अलिकति पूर्वाधारको कुरा गरौं, ४ वर्षको अवधिमा मुसिकोटकले पूर्वाधारमा के गर्यो अबको एक वर्षमा के गर्छ ? 

यो पाािलका पूर्वाधारका हिसाबले निकै कमजोर थियो । तर, हामी आएसँगै ग्राभेल गर्ने, सडक सञ्जाल विस्तार गर्ने, कालोपत्रे गर्ने, उज्यालो नगरपालिका भनेर बत्तीको पहुँच विस्तार गर्यौँ । एक घर, एक धारा नीति अवलम्बन गरेर ८० प्रतिशतलाई खानेपानी वितरण गरेका छौँ । 


अन्त्यमा पालिकाको कानुन निर्माण र नागरिकको न्यायमा पहुँचको अवस्थाबारे बताइदिनुस न ।

स्थानीय तहको निर्वाचन भएपछि हामी पहिलो निर्वाचित जनप्रतिनिधि हौँ । कानून निर्माण गर्नुपर्ने हाम्रो जिम्मेवारी थियो । हामीले ३८ कानून निर्माण गरेको छ । कानून मातहतमा रहेर कार्यविधि बनायौँ । न्यायको क्षेत्रमा न्यायिक समितिमार्फत न्याय सम्पादन गर्यौँ । नागरिकको गुनासोलाई समाधान गर्ने गरेका छौँ । वडास्तरमा हामीले मेलमिलाप केन्द्र गठन गरेका छौँ । जसले गर्दा नजिकको सरकारका रुपमा नागरिकले सुविधा प्राप्त गरेको हामीले महसुस गरेका छौँ ।