close

कृषिमन्त्रीसँग सिंजा क्षेत्रमा कोल्ड स्टोर बनाइदिन माग

कृषिमन्त्रीसँग सिंजा क्षेत्रमा कोल्ड स्टोर बनाइदिन माग

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको सिंजा क्षेत्रमा बृहत् चिस्यान घर (कोल्ड स्टोर) बनाइदिन स्थानीयले माग गरेका छन् । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीसँग यस्तो माग गरेका हुन् ।

 

मन्त्रालयबाट सञ्चालित योजना अनुगमन गर्न जुम्लाको सिंजा  क्षेत्रमा पुगेकी मन्त्री केसीले कृषि क्षेत्रका समस्या र समाधानका विषयमा नागरिकको परामर्श लिएकी छन् । 

 

पहिलो पटक कृषिमन्त्री घरदैलोमा पुगेकामा खुसी व्यक्त गर्दै स्थानीयले यस क्षेत्रमा चिस्यान घर भएको भए बेमौसममा पनि स्याउले बजार पाउने बताए । यो क्षेत्र कृषि उत्पादनका लागि उर्वर भूमि हो । 

 

सिजनमा सबै कृषकले एकै पटक बिक्री वितरण गर्दा बजार पनि नपाइने र त्यसले मूल्य पनि नपाउने भएकाले यस क्षेत्रमा बृहत् कोल्ड स्टोरको आवश्यकता रहेको स्थानीयको भनाइ छ ।


 
सिंजा क्षेत्रमा चारवटा गाउँपालिका छन् । यहाँ आलु प्रशस्त उत्पादन हुन्छ भने स्याउ खेतीको प्रबल संभावना छ । तर, भण्डारण गर्ने स्थान छैन । स्थानीय गोपाल रोकायाले भने, ‘स्थानीय वस्तु संकलनका लागि विशाल भण्डारण कक्ष निर्माण भएको खण्डमा यहाँको खाद्यवस्तु बेचेरै किसान समृद्ध हुन सक्छन् ।’

 

यहाँको स्याउ भण्डारण गर्न नसक्दा भारतको स्याउ महँगोमा किनेर खानुपरेको छ । आलु, स्याउ जम्मा गरेपछि बेच्ने ठाउँ छैन । यहाँको चिज सडिएर जान्छ ।

 

यस क्षेत्रमा कोल्ड स्टोर र कृषि विश्वविद्यालय स्थापना हुन सकेको खण्डमा कृषि क्षेत्रमा आत्मनिर्भर हुन सक्ने स्थानीयको भनाइ छ ।

 

अनुगमनका क्रममा स्थानीयले मालपोत कार्यालय स्थापना गर्नसमेत माग गरेका थिए । मन्त्री केसीले कृषि क्षेत्रमा जनताको लगाव निकै प्रशंसनीय रहेको बताइन् । उनले भनिन्, ‘कृषि विश्वविद्यालय र कोल्ड स्टोर निर्माणका लागि छलफल थाल्छौँ ।’


कृषिमन्त्री केसीले कालीकोटको सिमाना नाग्म बजार हुँदै सिँजा गाउँपालिकाको नराकोटसम्म र गुठीचौर, पातारासी र चन्दननाथ नगरपालिकामा सञ्चालित योजनाको अनुगमन गरिन् ।