close

सन्दकपुरकाे डाँडाबाट प्रकृतिलाई चियाउँदा...

सन्दकपुरकाे डाँडाबाट प्रकृतिलाई चियाउँदा...

Trulli
ADVERTISEMENT

इलाम- इलामको सन्दकपुर गाउँपालिका आफैंमा प्राकृतिक रूपमा रमणीय छ । पालिकाले प्राकृतिक मोहकलाई थप सुन्दर बनाउन वडा नम्बर ४ माबुथाममा कृत्रिम भ्यु टावर निर्माण गर्न लागेको हो । टावर निर्माणपछि प्राकृतिक स्थलको मनोरम दृश्यावलोकन गर्न सहयोग पुग्नेछ ।

 

अहिले भ्यु टावरको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले निर्माण गरेको टावरको काम करिब ९० प्रतिशत सकिएको वडाध्यक्ष वर्तमान गुरुङले बताए ।

 

सुरुमा पाँच तले भनिए पनि टावर बजेटसँगै प्राकृतिक र प्राविधिक हिसाबले असहज भएपछि तीन तलामा टुंग्याइएको छ । टावर निमार्ण सकिए पनि फिनिसिङलगायत काम बाँकी छ । 

 

निर्माणको काम वर्षाले रोकिए पनि भदौदेखि फिनिसिङको काम सक्न करिब तीन महिना लाग्ने वडाध्यक्ष गुरुङले जानकारी गराए । उनका अनुसार भ्यु टावर क्षेत्रमा शौचालय भवन, कफी हाउस, गार्डेनिङसँगै सवारी पार्किङको काम बजेट अभावले बाँकी रहनेछ ।

 

निर्माणाधीन भ्यु टावर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले बताए । उनले गाउँपालिकाबाट थप बजेट व्यवस्थापन गरी टावर निर्माण सम्पन्न गर्ने योजना रहेको जानकारी दिए ।

 

गाउँपालिकाले २०७४ बाट निर्माण सुरु गरेको भ्यु टावर निर्माणपछि पर्यटनको माध्यमबाट आर्थिक स्रोत जुटाउन सकिने भए पनि सीमित बजेटले क्रमागत रूपमा निर्माण हुँदै आएको छ ।

 

भारतीय सिमानाको करिब सात किलोमिटर नेपालभित्र टावर बनेपछि जिल्लाका विभिन्न ठाउँ, पूर्वी तराईका फाँटसँगै पश्चिम बंगालको दार्जिलिङ र सिक्किमका विभिन्न भूभागको अवलोकन गर्न थप सहज हुने स्थानीयको भनाइ छ ।

 

स्थानीय उमेश गुरुङ धार्मिक र सांस्कृतिक महत्त्व बोकेको थामबाट थप दृश्यावलोकनमा रमाउन आन्तरिक तथा भारतीय पर्यटक आउने सक्ने सुनाउँछन् ।

 

१२ रोपनी क्षेत्रफलमा फैलिएको माबुथाम क्षेत्रको भ्यु टावर निर्माणमा हालसम्म २६ लाख रुपैयाँ खर्च भइसकेको छ । टावर वरिपरि पार्क सडकबाट टावर क्षेत्रसम्म पुग्ने पदमार्ग निर्माणसँगै बाँकी काम सक्न ५० लाख रुपैयाँ खर्च हुने निर्माण समितिले जनाएको छ ।
 
समुद्री सतहबाट २ हजार ८ सय मिटर उचाइँमा रहेको माबुथाममा इलामको लेकाली जीवनशैली र प्राकृतिक सुन्दरतामा रमाउन सकिन्छ । लोपोन्मुख चराचुरुंगी, वन्यजन्तुलगायत अवलोकन गर्न सकिनेछ ।