close

बाख्राको खोर बनायौँ, छोरीलाई पनि पढायौँ (भिडियो वार्ता)

बाख्राको खोर बनायौँ, छोरीलाई पनि पढायौँ (भिडियो वार्ता)

ADVERTISEMENT

पाल्पाको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीसँग पालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीता र रोजगारी प्रर्वद्धनमा पालिकाको नीति, पूर्वाधार विकासका प्राथमकितालगायतका विषयमा गरिएको कुराकानी: 


यसवर्षदेखि छोरी शिक्षा कार्यक्रम सुरु गर्नुभएको छ । यो कार्यक्रमको अवधारणा र लक्षित वर्गवारे अलिकति बताइदिनुस् न ? 

अहिले एउटा बहसको रुपमा लैंगिक समानता उठिरहेको छ । समानताका लागि सबैभन्दा ठूलो कुरा शिक्षामा पहुँच हुनुपर्छ । त्यसैमा आधारित भएर नगरपालिकाभित्रका दलित, आदिवासी र अन्य गरेर एक वडाबाट ५ जना छोरीलाई नगरपालिकाले विशेष शैक्षिक सहयोग गरेर माध्यमिक तहको शिक्षा हासिल गर्न कार्यक्रम ल्याएका हौँ । त्यसपछि उहाँहरु अब्बल विद्यार्थी बनेमा उच्च शिक्षामा समेत सहयोग गर्ने गरी हामीले कार्यविधि तयार गरेर अघि बढाउने योजना बनाएका छौँ । 


कोरोनाको तेस्रो लहर आउने चेतावनी आइरहेको छ । शिक्षामा तपाईंहरु संवेदनशील हुनुहुन्छ । यस्तो बेला शिक्षण सिकाइ र जनजीविकालाई कसरी व्यवस्थित गर्नुहुन्छ? कस्तो छ तयारी ? 

कोरोनाले प्राय सबै क्षेत्रमा असर गरेको छ । शिक्षा सबैभन्दा संवेदनशील क्षेत्र हो । अत्यधिक असर यही क्षेत्रमा बढी गरेको छ । बालबच्चको विद्यालयबाट ड्रपआउट हुने सम्भावना छ । हामी वैकल्पिक सिकाइको खोजी गरिरहेका छौँ । अनलाइनको एउटा माध्यम त छ तर हाम्रो मुलुकमा पहुँच रहने सम्भावना कम छ ।

हामीले विकास गरेको भिडियो सामग्रीबाट बालबच्चालाई शिक्षासँग जोड्ने योजना बनाएका छौँ । तर, व्यवहारतः टोलटोलमा यो कार्यक्रम लग्दा अभिभावक डराउने, कोरोना सर्ने डर पनि उहाँहरुमा त्यतिकै देखिएको छ । अलिक चुनौती छ ।


धेरैजसो स्थानीय तहले गतवर्षको बजेटमा अघि सारेको कार्यक्रम पुरा गर्न नसकेपछि यसवर्षपनि तिनै कार्यक्रमलाई निरन्तरता दिएका छन् ? तपाईहरुको अवस्था कस्तो छ ? यसवर्ष बजेटमा कस्ता कार्यक्रम छन् ? 

हामीले कतिपय राम्रा कार्यक्रमलाई निरन्तरता दिएका छौँ । कोभिडले प्रभाव पारेको क्षेत्रको पुनर्उत्थान, शिक्षा, स्वास्थ्य क्षेत्रलाई निरन्तरता दिएका छौँ । पर्यटक र लगानीकर्ता आकर्षित गर्न एग्रो टुरिजम कार्यक्रम अघि सारेका छौँ । त्यस्तै, उत्पादनशील क्षेत्रमा हामीले लगानी गरेका छौँ । कृषकको समूह बनाउने, उत्पादनलाई बजारसम्म पुर्‍याउन हामीले संकलन केन्द्र निर्माण गरिरहेका छौँ । 

 

पालिकाले पूर्वाधार र कृषि क्षेत्रमा हालसम्म गरेका उपलब्धिबारे संक्षेपमा बताइदिनुस न । 

जहाँसम्म कृषि क्षेत्रको कुरा छ । हामीले व्यापक युवालाई कृषिमा आवद्ध गरेका छौँ । मासु र दूग्धजन्य कुरामा आत्मनिर्भर भएर निर्यात गर्ने योजना हामीले बनाएका छौँ । गाईभैँसी पालनमा युवालाई आकर्षित गरेर झण्डै ४ सय ८० युवा यसमा जोडिनुभएको छ । परम्परागम खाद्य बालीलाई निरन्तरता दिन तालिम दिएका छौँ । कृषि पकेट क्षेत्र हामीले अघि बढाएका छौँ ।


६ वटा वडामा बाख्रा पकेट क्षेत्र घोषणा गरेर ४५ सय माउ बाख्रा विक्री गरेका छौँ । ३ सय खोर नगरपालिकाले बनाइदिएको छ । पहाड भए पनि मत्स्य पालनमा जोड दिएका छौँ । चार सय युवा अहिले यसको व्यवसाय गरिरहेका छन् ।