close

लैङ्गिक विभेद हटाउन इलाम नगरले बनायो कानुन 

लैङ्गिक विभेद हटाउन इलाम नगरले बनायो कानुन 

Trulli
ADVERTISEMENT

इलाम- इलाम नगरपालिका लैङ्गिक सामाजिक समावेशीकरण मैत्री बन्ने भएको छ । नगरपालिकाले समानुपातिक समावेशी सिद्धान्तको आधारमा महिला सहभागिताको सुनिश्चित गर्दै शिक्षा नियमावलीको सातौं संशोधन गरेर महिला सहभागितासँगै नेतृत्व स्थापित गर्ने अभियान थालेको छ । 


नगर प्रमुख महेश बस्नेतका अनुसार नगरपालिकाको शिक्षा क्षेत्र, जनप्रतिनिधि र कर्मचारीको संख्या हेरेर सहभागितालाई अझ राम्रो बनाउन नीतिगत व्यवस्थापन गर्ने तयारीसमेत थालेको छ । 

 

नगर प्रमुख बस्नेतले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा नगरपालिकाबाट निर्माण हुने विभिन्न समितिहरुमा महिलासँगै स्थानीय समुदायको नेतृत्व स्थापित गर्दै महिला र पुरुषको सहभागिता बराबरी बनाउने अयिभयान थालेको नगरप्रमुख बस्नेत बताउँछन् । 

 

शिक्षा नियमावली संशोधनले नगर शिक्षा समिति सहित नगरपालिकाका विद्यालय व्यवस्थापन समिति र शिक्षक अविभावक संघमा महिला नेतृत्व लैजान बाध्यात्मक अवस्था सिर्जना गरेको छ । 


नगरपालिका भित्रका ४९ विद्यालय मध्ये वडा नम्बर ५ र ६ मा मात्र विद्यालय व्यवस्थापन समितिमा महिला अध्यक्ष छन् । नगरपालिकामा शिक्षा नियमावली कार्यान्वयनमा आए कम्तीमा १७ वटा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा महिला चयन हुनेछन् ।


नगरपालिकाको ४९ विद्यालयमा चार सय ९९ जना शिक्षक छन् । माध्यमिक तहमा ७२ जना शिक्षक छन् मध्ये ५७ जना पुरूष र १५ जना महिला शिक्षक छन् । माध्यमिक तहमा आदिवासी जनजाति महिला २ र पुरूष १० गरी जम्मा १२ जना शिक्षक छन् भने दलित शिक्षक एक जनामात्र छन् । 


आधारभूत विद्यालयमा ३६५ जना शिक्षक मध्ये १७३ पुरूष छन् भने १९२ जना महिलाको संख्या छ । दलित २७ जना अर्थात १० दशमलव ८४ प्रतिशत छन् ।

 

६६ जना अर्थात २० दशमलव ५१ प्रतिशत जनजातिको सहभागिता छ । र एक सय ५६ जना अर्थात ६२ दशमलव ६५ प्रतिशत अन्य अर्थात् बाहुन-क्षेत्री कर्मचारी रहेको नगरपालिकाको तथ्याङ्क छ ।