close

टिकटकमा भाइरल मधौलिया उद्यान (भिडियो खबर)

टिकटकमा भाइरल मधौलिया उद्यान (भिडियो खबर)

ADVERTISEMENT

कपिलवस्तु- अहिलेको युवा पुस्तालाई नौलो किसिमको कुनै पनि डिजाइन देख्नै हुँदैन । यति छिटो लालायित हुन्छन् कि उनीहरूको आकर्षण त्यसतर्फ परिहाल्छ । अझ, टीकटक बनाउने फोटो खिच्ने चलन बढीरहेकाले पनि रंगीविरंगी दृष्य देख्ने वित्तिकै युवा पुस्ता जति नै टाढा किन नहोस् एक पटक पुग्नै खोज्छन् । तारमा झुण्ड्याइएको रंगीन छाता होस् वा घुमाउरो र चिल्लो कालोपत्रे गरिएको सडक किन नहोस् युवा पुस्ता फोटो खिच्न, टिकटक बनाउन पुग्ने गर्दछन् ।

 

कपिलवस्तुको वाणगंगा नगरपालिका-५ मधौलिया सामुदायिक वनमा पनि अहिले युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । वनभित्रको उद्यान र त्यहाँ फूलेका फूल, रंगीविरंगी चराचुरुङ्गीको आकृतिले युवा पुस्ता लालायित हुँदा अहिले वनमा पर्यटकको थामि नसक्नुको भीड बढ्न थालेको छ ।  टिकटकमा भाइरल भएको यो रंगिन रिङ कपिलवस्तुको वाणगंगा नगरपालिका ५ मधौलिया सामुदायिक वन भित्रको हो । भाइरल भएकै कारण मधौलियाको यो पार्कमा स्थानीय पर्यटकको घुइँचो लाग्न सुरु भएको छ ।

 

मधौलिया सामुदायिकले वन क्षेत्रमा सौन्दर्यकरण गरेपछि आन्तरिक र बाह्य पर्यटको घुइँचो लागेको छ । एक महिना देखि फोटो खिच्ने र टिकटक बनाउनका लागि दैनिक सात सयको हाराहारीमा आउने गरेको छन् । अतिक्रमणमा परेको वन क्षेत्रलाई २०४९ सालमा जिल्लाको पहिलो सामुदायिक वनको रूपमा दर्ता गरिएको थियो । पार्कको सप्तरंगी रिङ नौलो भएको कारण पर्यटकको भीड दिनहुँ बढीरहेको छ । 


दर्ता पछि २५ वर्षसम्म निस्क्रय अवस्थामा रहेको वन कपिलवस्तुका डिभिजनल वन प्रमुख ईश्वरी पौडेलको पहलमा चिटिक्क बनेको हो । दुई वर्षअघि देखि पर्यटनको विकास भएपछि पहिचान बनाउन सफल भएको थियो । उद्यानमा स्थापना गरिएको सप्तरंगी फलामे रिङ्गप्रति पर्यटकको आकर्षण बढीरहेको छ । पार्क बनाउने भएपछि गुगलमा खोज्दै रिङको नमुना डिजाइन गरिएको थियो ।

 

घुम्न आउनेले सामाजिक सञ्जालमा पोष्ट गरेको कारण घुम्न आउनेको घुइँचो लागेको छ । इन्द्रेणीका ७ रंगले सजिएको १२ रिङ्मा टिकटक बनाउने र फोटो खिच्नेको संख्या अत्यधिक भएको देख्दा सामुदायिक वन प्रशासन पनि खुसी छ । 

 

पूर्व पश्चिम राजमार्ग देखि २ किलोमिटर दक्षिण तर्फ रहेको उद्यान निर्माणमा एक करोड खर्च गरिएको छ । अतिक्रमणमा परेको वन क्षेत्र पर्यटनको रूपमा विकास गर्नका लागि डिभिजन वन कार्यलय कपिलवस्तु, वाणगंगा नगरपालिका, सामुदायिक वनले लगानी गर्दै आएका छन् ।

 

उद्यान परिषरमा पर्यटकलाई आकर्षित गर्ने जनावर र चराहरूको आकृति स्थापना गरिएको छ । वनभोजका लागि ट्रस समेत निर्माण भएको छ । संरचना निर्माणकै क्रममा रहेकाले अहिले अवलोकन निःशुल्क गरिएको छ । फूलै फूलको बगैँचा त्यसमाथि अनेक आकृति । लोभ्याउने रिङले पर्यटक नतान्ने कुरै भएन ।

 

पछिल्लो समय युवा पुस्ताको मोह यिनै कुरामा देखिन थालेकाले पनि अहिले धेरै स्थानमा यस्तै प्रकारका नौलोपन दिने प्रचलन चलिरहेको छ । तर, यो दिगो हुनुपर्छ । वन क्षेत्रको रौनकमा आँच आउने किसिमको कुनै पनि गतिविधि हुन नदिन सुरक्षा र हेरचाह पनि गरिरहनुपर्छ । यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।