close

आहा भैरवी ! तर पूर्वाधार खै ? 

आहा भैरवी ! तर पूर्वाधार खै ? 

Trulli
ADVERTISEMENT

दैलेख- दैलेखको भैरवी पञ्चकोशी तिर्थस्थल मध्येको एक धार्मिक स्थलसँगै पर्यटकीय स्थल हो । भैरवी गाउँपालिका–४ र चामुण्डा वीन्द्रासैनी नगरपालिका को सिमानामा पर्ने झरनाकाे नामबाट नै गाउँपालिकाको नाम भैरवी राखिएको हाे । 

 

वरिपरि जङ्गलले घेरिएको हरियाली बातावरण । त्यही हरीयाली वातावरणकोच छङछङ गरिरहने भैरवी झरना । आफैमा सुन्दर हेरिरहुँ लाग्ने त्यहि बसिरहूँ लाग्ने । जति हेरे पनि मन कहिल्यै नअघाउने । झन झन हेरिरहुँ लाग्ने झन नजिक गएर काखैमा बसौँ लाग्ने । 

 

पहाडको फेदी गौमुखबाट लडिबुडी गर्दै ओल्लो छाल पल्लो छाल गर्दै फेदीमा झर्छ । त्यहि पहाडको फेदी र गौमुखबाट झरेको स्वच्छ, निर्मल पानीको छहराको काखमा एकैछिन् बस्दा पनि स्वर्गमा पुगेजस्तो भान हुन्छ । जति नजिक गयो उति नै काखमा राख्छ भैरवी झरनाले । काखमा बसेर कहिले नअघाउने झन मन बहकाउने । 


व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने आन्तरिक पर्यटकले तनाव बिर्सन्छन् । मन भुलाउँछन् । मनले इच्छाएको हे भैरवी पुर्‍याइदेउ भन्दै पुकार्छन् । कैयौँ पकृति प्रेमी प्रकृतिमा नजर अडाउँछन र मन शान्त पार्छन । कहिले मेरो मनको पुर्‍याइदेउ भैरवी भन्दै जान्छन् त कहिले दुइ पे्रमी जोडी हे भैरवी हाम्रो सधैभरि मिलन गराइदेउ भन्दै पुकार्रछन् । 


पहाडको फेदी र गौमुखबाट लडिबुडी गर्दै छाँगा छहरा हुँदै फेदीसम्म पुगेर झर्ने भैरवी झरना पुग्नलाई उचित पुर्वाधार र उचित प्रचारप्रसार  हुन नसक्दा अहिले ओझेलमा छ ।  गौमुखबाट भरनाको उद्गमस्थल भएको भैरवी झरना मनमोहक झरना रहेको उक्त ठाउँमा पछिल्लो समयमा भने आन्तरिक पर्यटकहरु जाने गरेका छन् । 


आन्तरिक तथा बाह्य पर्यटकका लागि उचित गन्तव्य रहेको झरनाका बारेमा गाउँपालिका र नगरपालिका तथा वडा कार्यालयले पनि चासो नदिएको स्थानीयको गुनासो छ । 


नुहाएपछि मनोकांक्षा पुरा हुने विश्वास

पुरानो इतिहास बोकेको यो ठाउँमा पुर्णिमाको दिनमा धेरै टाढाबाट दर्शनार्थीहरु आउने गर्छन् । यहाँको झरनामा नुहाउदा मनले चाहेको मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।


यहाँको झरनामा नुहाएर मनले सोचे आटेको इच्छा पुरा हुन्छ भन्ने धार्मिक विश्वासले नै पुर्णिमाको दिन टाढा टाढाबाट यहाँ थुप्रै दर्शनार्थीहरु आउने गरेको स्थानीय संचारकर्मी खगेन्द्र रानामगर बताउँछन् । 


झरना खसेको ठाउँमा भगवान !

रातीको समयमा झरना खसेको ठाउँमा भगवान राम सीता र बाघमाथि देवी चढेका दृश्यहरु कुँदेको समेत देखिने गरेको सञ्चारकर्मी रानामगर बताउँछन् । ‘अरुले यस्ता दृश्य देखिन्छन् भनेर पहिले आफुले विश्वास नगरेको पछि रातीको समयमा आफ्नै आँखाले प्रत्यक्ष देख्दा विश्वास लाग्यो’, उनले भने । 

 

दुधको धारा बग्ने बाँसधारा

झरना माथि एउटा अर्को झरना  छ । त्यो झरनालाई बाँसुधारा भनेर चिनिन्छ । तीनवटा बाँसु धारा भएको ठाउँबाट पानी नभएर दुध झर्थ्याे त्यही भएर बासुधारा नाम रहेको भन्ने किम्वदन्ती छ । झरनाबाट झरेको दुध अन्यत्र लगेर खिर बनाएर खाइसकेपछि दुध झर्न बन्द भएको स्थानीय ८० वर्षीय मान बहादुर सिजाली मगर बताउँछन् ।  पुर्णिमाको दिनमा बाँके बर्दिया, कैलाली, सुर्खेत लगायत धेरै ठाउँहरु तिर्थालुहरु झरना पुग्ने गरेको सिजालीले बताए । 


टाढा टाढाबाट यहाँको झरनामा आएर नुहापछि आफुले सोचेको कुरा पुरा हुन्छ भन्ने धरैको धार्मिक विश्वास छ । तर स्थानीय सरकारले चासो नदेखाउदा पर्यटकीय गन्तव्य ओझेलमा पर्दै गएको छ । झरना वरिपरि न कुनै पुर्वाधार छ न  बास बस्ने ठाउँ नै छ ।


 टाढा टाढाबाट आएका तिर्थालुहरु पनि नजिकैको ओढारमा बास बस्ने गर्छन् । टाढाबाट आउने तिर्थालु र पर्यटकका लागि स्थानीय र प्रदेश सरकारले बस्नको लागि प्रतिक्षालय, सडक, झरनासम्म पुग्ने सजिलो बाटो बनाउनुपर्ने स्थानीय ७४ वर्षीय मान बहादुर सिजाली मगर बताउँछन् । 


हामी यस्तै सुन्दर मनोरम दृश्य भएको ठाउँ खोज्दै घुम्न जान्छाैँ तर अरुको ठाउँलाई राम्रो गइरहेका हुन्छाैँ तर आफ्नो स्वर्गजस्तो ठाउँमा घुम्न मन पराउदैनाैँ रानामगरले भने । 


पर्यटक भित्र्याउन डिपियार 

पञ्कोशी तिर्थस्थल मध्येको एक तिर्थस्थल र पर्यटकीय स्थल भएको र जुन एकसय मिटरभन्दा अग्लो भैरवीको विकासको लागि गाउँपालिकाले डिपियार नै तयार पारिसकेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढाले बताए । उनले भने, ‘भैरवी पुग्न मुख्य सडकबाट चार किलोमिटर छ । त्यहाँभन्दा माथि पैदल मार्ग बनाउने योजना छ ।’


गाउँपालिकाले दक्षिणमा श्रीस्थान ज्वाला क्षेत्र, विचैमा भैरवी र उत्तरमा कालिकोट सिमानामा रहेको व्याउलीलाई पालिकाले विषेश पर्यटकिय क्षेत्रका रुपमा अगाडी बढाउने लक्ष्य रहेको अध्यक्षको भनाई छ । 


भैरवीमा पर्यटक भित्राउन डिपिआर तयार भइसकेको र डिपिआरमा सडक, प्रतिक्षालय, पैदल मार्ग, पार्कजस्ता रहेको भैरवी गाउँपालिकाका इन्जिनियर हिरासिंह थापाको भनाइ छ  ।