close

भोजराज घिमिरेको ‘इन्द्रमाया’ सार्वजनिक

भोजराज घिमिरेको ‘इन्द्रमाया’ सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडाैं- साहित्यकार एवं पूर्वमुख्यसचिव, पूर्वराजदूत भोजराज घिमिरेको उपन्यास ‘इन्द्रमाया’ सार्वजनिक गरिएको छ । बिहीबार भर्चुअल माध्यम जुमबाट उक्त उपन्यास विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तक सार्वजनिक गरेका हुन् ।

 

साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास ‘तीन घुम्ती’की प्रमुख पात्र इन्द्रमायालाई केन्द्रमा राखेर लेखिएको ‘इन्द्रमाया’ उपन्यासमाथि समालोचकद्वय साधना प्रतीक्षा र महेश पौड्यालले टिप्पणी गरेका थिए ।

 

समीक्षक साधनाले बीपी कोइरालाको उपन्यासकी एक विद्रोही र सचेत पात्र इन्द्रमायालाई भोजराज घिमिरेले पुनः सशक्त जीवन दिएको बताइन् । उपन्यासको भाषा, शिल्प र कला पक्षमा टिप्पणी गर्दै साधनाले इन्द्रमाया नेपाली समाजको समग्र चित्र भएको उल्लेख गरिन् ।

 

अर्का समीक्षक महेश पौड्यालले इन्द्रमायामा बीपीकी प्रिय पात्र इन्द्रमायालाई भोजराज घिमिरेले अत्यन्त न्याय गरेको बताए । पौड्यालले पूर्वकथा र पूर्वपात्रहरूललाई नयाँ परिवेशमा नयाँ शिल्प र सौन्दर्यका साथ प्रस्तुत गर्ने काम सजिलो नभए पनि भोजराज घिमिरेले उठाएको जोखिम प्रशंसनीय भएको उल्लेख गरे ।

 

साहित्यकार एलबी क्षत्रीले ऐतिहासिक पात्र र कथनको नयाँ निर्माण रोचक र जानकारीमूलकका साथै जीवन्त हुने धारणा राखे । प्रस्तुतिको शिल्प र कोणले हरेक पुराना पात्र र कथा नयाँ रूपमा आउन सक्ने उनको भनाइ थियो । बीपी कोइरालाकी पात्र इन्द्रमाया पनि जुनकुनै लेखकले आफ्नो पात्र बनाएर प्रस्तुत गर्न सक्ने पात्र भएको उनले बताए ।

 

समीक्षक तथा पुस्तक ‘इन्द्रमाया’का सम्पादक घनेन्द्र ओझाले लामो समय सरकारी सेवामा बिताएर उच्चप्रशासक र कुशल कूटनीतिज्ञका रूपमा सफल भोजराज घिमिरे अवकासपछि पूर्णकालीन लेखक भएका र उनका हरेक वर्षजसो नयाँ कृति आइरहेका उल्लेख गरे । यसअघि नै गीत, गजलका पुस्तक र एल्बम प्रकाशन गरिसकेका घिमिरेको दोस्रो आख्यानकृति इन्द्रमाया भएको बताउँदै ओझाले इन्द्रमायामा घिमिरेले ५० वर्षअघिको नेपाली सामाजिक, राजनीतिक परिवेशका साथै लैंगिक विभेद, कर्मचारीतन्त्रको अवस्था, महिला र पुरुष दुवैको सूक्ष्म यौन मनोविज्ञान प्रस्तुत गरेको बताए । त्यसबेलाको समाजमा रहेको उच्चमानवीयताको उदाहरण पनि इन्द्रमायाका पात्रहरूमार्फत् देखाएको ओझाको भनाइ थियो ।

 

गीतकार, कवि तथा पूर्वमुख्यसचिव डा। विमल कोइरालाले बीपीका कृतिलाई पर्गेलेर बीपीका पात्रहरूलाई टिपेर सुन्दर शिल्पमा सर ढंगले लेख्न सक्नु घिमिरेको विशेष खुबी भएको बताए ।

 

प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लामो कालखण्ड सरकारी सेवामा बिताएर निवृत्त भएको एउटा व्यक्तित्वले अवकासपछिको सम्पूर्ण उलर्जा र समय साहित्यमा लगानी गर्नु साँच्चै उदाहरणीय भएको बताए । कुलपति उप्रेतीले भोजराज घिमिरेको अध्ययन, अनुसन्धान गर्ने जाँगर र परिमार्जन अनि परिष्कार गरिरहने स्वभावले नेपाली साहित्यमा नयाँ चिज आइरहने धारणा राखे । 

 

उपन्यासकार घिमिरेले आफ्नो रुचि र समय कटाउने सबै कुरा अहिले लेखन नै भएको उल्लेख गर्दै कविताबाट गीत, गजल हुँदै अहिले आख्यानमा सक्रिय रहेको बताए । बीपीका कृतिहरू र तिनका पात्रबाट आफू धेरै नै प्रभावित भएका कारण यो पुस्तक लेखिएको उनको भनाइ थियो ।