close

खुसी छन् कोहलपुरका बा-आमा (भिडियाे वार्ता)

खुसी छन् कोहलपुरका बा-आमा (भिडियाे वार्ता)

ADVERTISEMENT

बाँकेको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतसँग जनप्रतिनिधिको ४ वर्षे कार्यकालको समीक्षा, बजेट कार्यान्वयन, संक्रामक रोग तथा विपत्तिसँग जुध्न पालिकाले गरेको पहललगायतका विषयमा पालिकाखबर वुलेटिनका लागि करिष्मा कार्कीले गरेको कुराकानी:
 

जनप्रतिनिधिको हैसियतमा ४ वर्षको अनुभव बटुल्नु भएको छ । यो अवधिमा स्थानीय तहमा देखिएका समस्या कस्ता रहेछन्? संघ र प्रदेश सरकारले स्थानीय तहलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ? 


२०५२ को सरकार बन्दासम्म स्थानीय तहले कुनै पनि बजेट प्राप्त गर्न नसक्ने, केन्द्रबाट आएको योजना देख्न पाइन्थ्यो । ४९ देखि ५९ सम्म गाउँ विकास समितिको अध्यक्षसमेत रहेँ । त्यतिखेर सानो सानो  योजना सञ्चालन गरेको थिएँ । अहिले संघीय सरकारको सुरुवात भएपछि ठूलो भोलुममा बजेट आउन थाल्यो । त्यसपछि नगरप्रमुखको हैसियतमा काम गर्न पाएँ । यो पालिकामा धारा, विद्यालयको शौचालय, पर्खालसम्मका योजना हामीले अघि बढायौँ ।


जनताको अपेक्षा थुप्रै थिए । ह्वात्तै बनाउन त सकिएन तर, पनि हामीले धेरै काम अघि बढायौँ । एक जना सन्तुष्ट हुँदा अर्को पक्ष असन्तुष्ट हुने गर्दछ । मेरो अनुभवमा एक ठाउँमा विकास हुने अन्त नहुने समस्याले वितृष्णा पनि बढेको छ । दृष्टिकोणको कुरा गर्दा औसत रह्यो  भन्न सकिन्छ । 

 

यो बीचमा जनप्रतिनिधिहरु बीचको सम्बन्ध र जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई चाहिँ कसरी मूल्यांकन गर्नुभएको छ  ?


कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध अलिक जटिल रहेछ । अहिले कर्मचारीहरु नगरपालिकामा समायोजन भएर आएपछि जनप्रतिनिधि नभएको कार्यकालमा बसेको कर्मचारी आए । कोही हुलाक, कोही कृषि कार्यालयबाट कर्मचारी आइपुगे । पालिकाको काम नै फरक भयो । 


तपाईंको पालिका कोरोना संक्रमणको उच्च जोखिममा थियो । अहिलेपनि खतरा टरिसकेको छैन । अब तेस्रो लहरको सामना गर्दै जनजीवन प्रभावित नबनाउन कस्ता योजना छन् ? 

 

जनजीवनलाई प्रभावित नबनाउन महामारीको प्रकोप जति फैलन्छ त्यसको आधारमा योजना बनाउनुपर्ने हुन्छ । हामीले पूर्व तयारी पनि गरेका छौँ । गत वर्ष हामीले धेरै समस्या समाधान गर्न हम्मे हम्मे भयो । दोस्रो लहरमा हामीले आइसोलेसन र २५ शय्याको कोभिड अस्पताल बनायाैँ । कर्मचारीको अभाव, अक्सिजनको अभाव त रह्यो नै । 

 

विद्यालय, उद्योग, कलकाराखाना सबै प्रभावित छन् । यस्तो बेला बजेटमार्फत करको दायर वढाएको भनेर आलोचना सुनियो। कसरसम्वन्धि तपाईहरुको भिजन र कार्यान्वयन नीति के हो ?


नीति त जे पहिले थियो त्यही हो । करको दायरा पनि बढाएका छैनौँ । गत वर्षको तुलनामा यो वर्ष छिटो कर बुझाउनलाई १५ र २५ प्रतिशत कर छुटको व्यवस्था गरेका छौँ । 

 

अलिकति पूर्वाधार विकासको कुरा गरौँ, जनप्रतिनिधि आएपछि कोहलपुर के-के कुरामा फरक देखियो त ?


जनप्रतिनिधि आएपछि कोहलपुरमा फरक चाहिँ शिक्षामा देख्न सकिन्छ । हिजो प्राविको शिक्षकले मावि हाँकेको थियो । अहिले हामीले त्यही तहको स्थायी शिक्षक दिएका छौँ । आधारभूत तहसम्मको सबै निःशुल्क बनाएका छौँ । विद्यार्थी बढी भएको विद्यालयमा थप शिक्षकको व्यवस्था गरेका छौँ । खेलकुद मैदान बनायौँ , क्रिकेट मैदान निर्माण सुरु भएको छ । 


ज्येष्ठ नागरिकका लागि शिविर सञ्चालन गरेका छौँ । वृद्ध मध्येपनि कोहलपुर नगरपिता र माता भनेर २ हजार थप गरेर भत्ता दिएका छौँ । कृषि क्षेत्रमा कृषि यन्त्र, सिँचाई, पशु सुत्केरी भत्ता दियौँ । जंगलसँग जोडिएका वडामा बाख्रापालनतर्फ उन्मुख गराउन बाख्रा वितरण, खोर बनाइदिएका छौँ । थुप्रै विषयमा कृषकलाई सुविधा दिने, सेवा सुविधा पुगोस् भनेर १५ वडामा कार्यालय भवन बनाएर अघि बढेका छौँ । आफ्नै भवन बनाएर यो वर्षदेखि आफ्नै कार्यालय सञ्चालन गर्दैछौँ ।