close

नमोबुद्धमा निर्मित दुई प्रवेशद्वार उद्घाटन

नमोबुद्धमा निर्मित दुई प्रवेशद्वार उद्घाटन

Trulli
ADVERTISEMENT

काभ्रे- पर्यटकीय नगरी नमोबुद्धमा निर्माण गरिएका दुई वटा प्रवेशद्वारको आइतबार उद्घाटन गरिएको छ । नमोबुद्ध नगरपालिका वडा नम्बर १ फूलबारीमा निर्माण गरिएको नमोबुद्ध नगर प्रवेशद्वार तथा वडा नम्बर ११ मा निर्माण गरिएको ऐतिहासिक एवं धार्मिक स्थल नमोबुद्ध मन्दिर परिसर प्रवेश गर्ने प्रवेशद्वार एकै दिन उद्घाटन गरिएको हो । 

 

नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले दुवै प्रवेशद्वारको उद्घाटन गरे । नमोबुद्ध नगर प्रवेशद्वार नमोबुद्ध नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार कार्यक्रमको संयुक्त लगानीमा निर्माण गरिएको हो । उक्त प्रवेशद्वार निर्माणका लागि २६ लाख २७ हजार ६ सय ६६ रुपैयाँ खर्च भएको छ ।


यस्तै, नमोबुद्ध परिसर प्रवेशद्वार नमोबुद्ध नगरपालिका तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको हो । दुवै प्रवेशद्वारमा बौद्ध संस्कृति झल्कने आकृतिसमेत निर्माण गरिएको छ । 


प्रवेशद्वार उद्घाटन गर्दै नगरप्रमुख तिमल्सिनाले नमोबुद्धको पहिचान तथा बौद्ध संस्कृति झल्कने गरी प्रवेशद्वार निर्माण गरिएको र यसले ऐतिहासिक क्षेत्र नमोबुद्धको पहिचानलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन थप टेवा पुग्ने बताए । उनले नमोबुद्ध क्षेत्रमै पार्क निर्माणको प्रक्रिया यसै वर्षदेखि सुरु हुने जानकारी दिए ।


ऐतिहासिक सम्पदाको संरक्षण तथा यसको प्रचार–प्रसारका लागि नगरपालिका लागिपरेको तिमल्सिनाको भनाई थियो । नगरपालिकामा ११ वटा वडा कार्यालयमध्ये ८ वटा वडा कार्यालय भवन निर्माण सकिएको र बाँकी ३ वटा पनि निर्माणका लागि टेन्डर आह्वान भइसकेको बताउँदै तिमल्सिनाले भौतिक पूर्वाधारको विकासलाई नगरपालिकाले उच्च प्राथमिकताका साथ अघि बढाएको सुनाए । 


धार्मिक स्थल नमोबुद्ध परिसर व्यवस्थित बनाउन, सडकलगायत अन्य पूर्वाधारको विकास गर्न नगरपालिकाले विशेष रूपमा योजना बनाएर कार्यान्वयन गरेको उनले बताए । 


कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरपालिकाको पहलमा निर्माण भएका पूर्वाधारको सबै पक्ष मिलेर संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताइन् । उनले नमोबुद्ध क्षेत्र प्रवेश गर्ने सडकको स्थरोन्नति गर्नुका साथै काभ्रेभन्ज्याङमा प्रवेशद्वार निर्माणका लागि पहल गरिरहेको जानकारी दिइन् ।


नमोबुद्ध क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउन होमस्टेलगायत कार्यक्रम अगाडि बढाउनुपर्नेमा तामाङले जोड दिइन् । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नमोबुद्ध मन्दिर नजिकै कोसेली घर निर्माण केही समयमै सुरु हुने बताए । संस्कृति प्रवर्द्धन, नमोबुद्ध नगरभित्रका ऐतिहासिक क्षेत्रको संरक्षण र सम्वद्र्धन तथा पर्यटन प्रवर्द्धनमा नगरपालिकाले जोड दिइरहेको उनको भनाइ छ ।


नमोबुद्ध क्षेत्रमा निर्माण गरिएका प्रवेशद्वारले पर्यटन आकर्षणमा थप टेवा पुग्ने उनको अपेक्षा छ । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष कर्मग्याल्बो लामा, वडा नम्बर ११ का वडाध्यक्ष कृष्णबहादुर तामाङ, नमोबुद्ध नगर प्रवेशद्वार निर्माण उपभोक्ता समितिका अध्यक्ष कामीसिं तामाङलगायतले नमोबुद्ध क्षेत्रको धार्मिक एवं ऐतिहासिक महत्त्वबारे प्रकाश पार्दै प्रवेशद्वार निर्माणले पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने बताए ।