close

सुदूरपश्चिममा बढ्दै स्वास्थ्य बिमा गराउने ग्राफ

सुदूरपश्चिममा बढ्दै स्वास्थ्य बिमा गराउने ग्राफ

Trulli
ADVERTISEMENT

अछाम- सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै गएको छ । नागरिकमा स्वास्थ्य बिमाप्रति आर्कषण बढ्दै जनाले बिमा गर्नेको संख्या बढ्दै गएको हो । 


सुदूरपश्चिम प्रदेशमा ५ वर्षको अवधिमा ३ लाख बढीले स्वास्थ्य बिमा गराएका छन् । गत आर्थिक वर्षको मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा ३ लाख ६५ हजार २ सय ६७ जनाले स्वास्थ्य बिमा गराएका छन् ।


सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलाली र सबैभन्दा कम बिमा गर्ने जिल्ला डोटी रहेको तथ्यांक छ । सबैभन्दा बढी कैलालीमा १ लाख ८७ हजार ८ सय ३५ र सबैभन्दा कम डोटीमा ४ हजार ७ सय ६५ जनाले स्वास्थ्य बिमा गराएका छन् ।


स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनकबहादुर साउदका अनुसार प्रदेशभरि कैलालीपछि अछाममा ४१ हजार ७७, बझाङमा ३५ हजार ८ सय ६ जनाले स्वास्थ्य बिमा गराएका छन् । यस्तै, बाजुरामा ३० हजार ८ सय ७५, कञ्चनपुरमा ३० हजार ६ सय २६ जनाले स्वास्थ्य बिमा गरेको साउदले बताए ।


बैतडीमा १८ हजार १ सय ८२, दार्चुलामा ८ हजार ६ सय ३९ र डडेल्धुरामा ७ हजार ४ सय जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको तथ्यांकमा उल्लेख छ ।


डोटी र डडेल्धुरामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएलगत्तै कोरोना महामारीले गर्दा भएको बन्दाबन्दीका कारण बीमितको संख्यामा अपेक्षाकृत वृद्धि हुन नसकेको साउदको भनाइ छ ।


उनले भने, ‘बन्दाबन्दीका कारण दर्ता सहयोगी घर भेटमा जान नसकेकाले बीमितको संख्यामा अपेक्षाकृत वृद्धि भएन । अहिले प्रदेशभरि ७ सय ४० दर्ता सहयोगी छन् ।’


सरकारले विपन्न र गरिब समुदायका बिरामीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले २५ चैत २०७२ मा कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको थियो ।


सुदूरपश्चिमको डोटीमा २१ फागुन २०७६ र डडेल्धुरामा २२ फागुनदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएसँगै हाल सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा यो कार्यक्रम सञ्चालन भइरहेको संयोजक साउदले जानकारी दिए । 


पाँच सदस्य रहेको परिवारलाई एक परिवार मानिएको छ । स्वास्थ्य बिमा गर्दा पाँच जना सदस्य भएको परिवारले वर्षमा ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । सोभन्दा बढी सदस्य भएको परिवारले प्रतिव्यक्ति थप ७ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । बिमा गरेका परिवारका पाँच सदस्यले एक वर्षमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा पाउने नीति छ ।


७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, अति गरिब, अति अपांगता भएका, एचआइभी संक्रमित, कुष्ठरोगी, जटिल प्रकारका क्षयरोगका बिरामीका परिवारको बिमा रकम शतप्रतिशत र महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमाको ५० प्रतिशत रकम सरकारले बेहोर्ने स्वास्थ्य बिमा नियमावलीमा उल्लेख छ ।


सुदूरपश्चिम प्रदेशमा भने महिला स्वास्थ्य स्वयम सेविकाको स्वास्थ्य बिमाको ५० प्रतिशत रकम सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बेहोर्ने गरेकाले निःशुल्क बिमा गर्ने गरेको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ । प्रदेशमा यसरी निःशुल्क स्वास्थ्य बिमा सेवा पाउने महिला स्वास्थ्य स्वयंसेविकाको संख्या ६ हजार ३२ छ ।


स्वास्थ्य बिमा गरेको एक वर्षमा बिमा कार्डको म्याद समाप्त हुन्छ र स्वास्थ्य सेवा लिन पुनः नवीकरण गर्नुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेशमा ८० प्रतिशत बीमितले नवीकरण गरेको प्रदेश संयोजक साउदले जानकारी दिए । उनले भने, ‘स्वास्थ्य बिमाबारे बीमितले राम्रोसँग बुझेर नवीकरण गर्दा र निःशुल्क बिमा गर्ने समूहको कार्यालयले नै नवीकरण गर्ने भएकाले नवीकरण गर्नेको संख्यामा वृद्धि भएको हो ।’


हाल म्याद समाप्त भएपछि मोबाइल एसएमएसमार्फत बीमितलाई जानकारी दिने गरिएको र नागरिक एप्समा बीमितको स्वास्थ्य बिमा कार्ड राखिएकाले म्याद समाप्त भएको जानकारी समयमै मिल्ने भएकाले नवीकरण गर्नेको संख्यामा वृद्धि भएको हो । सुदूरपश्चिम प्रदेशमा गत आवको अन्तिमसम्म ३८ हजार ४ सय १० जना बीमितले स्वास्थ्य सेवा लिएको कार्यालयको तथ्यांक छ ।


प्रदेशका दुई प्रादेशिक अस्पताल, चार निजी अस्पताल, एक संघीय अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र गरी ३७ वटा स्वास्थ्य संस्थाबाट बिमितलाई स्वास्थ्य सेवा दिने गरी तोकिएको प्रदेश संयोजक साउदको भनाइ छ ।

 

पुरुषभन्दा महिला बढी

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा गर्ने पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ । प्रदेशमा ३ लाख ६५ हजार २ सय ६७ बीमितमध्ये महिलाको संख्या १ लाख ९४ हजार १९ हुँदा पुरुषको संख्या १ लाख ७१ हजार २ सय ४८ जना रहेको पाइएको छ ।


प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य बिमा गर्ने पुरुषभन्दा महिलाको संख्या बढी छ । सबैभन्दा बढी कैलालीमा १ लाख ८७ हजार ८ सय ३५ मध्ये ९८ हजार ७ सय १८ जना महिला र ८९ हजार १ सय १७ जना पुरुषले स्वास्थ्य बिमा गराएका छन् ।


बोर्डका सुदूरपश्चिम प्रदेश संयोजक साउदका अनुसार प्रदेशभरि कैलालीपछि अछाममा ४१ हजार ७७ मध्ये २२ हजार ७ सय ९७ महिला र १८ हजार २ सय ८० जना पुरुष, बझाङमा ३५ हजार ८ सय ६ मध्ये १९ हजार ३ सय ४६ महिला र १६ हजार ४ सय ६० जना पुरुषले स्वास्थ्य बिमा गराएका छन् ।


यस्तै, बाजुरामा ३० हजार ८ सय ७५ मध्ये १५ हजार ६ सय ८ महिला र १५ हजार २ सय ६७ जना पुरुष, कञ्चनपुरमा ३० हजार ६ सय मध्ये १६ हजार २ सय २५ महिला र १४ हजार ४ सय १ जना पुरुषले स्वास्थ्य बिमा गरेको साउदले बताए ।


बैतडीमा १८ हजार १ सय ८२ मध्ये ९ हजार ८ सय ७६ महिला र ८ हजार ३ सय ६, दार्चुलामा ८ हजार ६ सय ३९ मध्ये ४ हजार ४ सय ७८ महिला र ४ हजार १ सय ६१ ज्ना पुरुषले स्वास्थ्य बिमा गराएका छन् । 


डडेल्धुरामा ७ हजार ४ सय मध्ये ४ हजार १ सय ६६ महिला र ३ हजार २ सय ९६ पुरुष र र सबैभन्दा कम डोटीमा ४ हजार ७ सय ६५ जनाले स्वास्थ्य बिमा गराएकामध्ये २ हजार ८ सय ५ महिला र १ हजार ९ सय ६० जना पुरुष रहेको बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालयको तथ्यांकमा उल्लेख छ ।

 

११ करोड २० लाख बढी प्रिमियम जम्मा

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा गरेबापत ११ करोड २० लाख रुपैयाँ बढी प्रिमियम जम्मा भएको छ । प्रदेशका ९ वटै जिल्ला गरी ११ करोड २० लाख ३ हजार ६७ रुपैयाँ बराबरको प्रिमियम संकलन भएको हो ।


अघिल्लो आर्थिक वर्ष २०७६/७७ अन्तिमसम्म प्रदेशको डोटीबाहेकका ८ वटा जिल्ला गरी ६ करोड २९ लाख ४३ हजार ९ सय ५७ रुपैयाँ बराबरको प्रिमियम जम्म भएको थियो ।


त्यसैगरी गत आर्थिक वर्ष २०७७/७८ मा प्रदेशका ९ वटै जिल्ला गरी ४ करोड ९० लाख ५९ हजार १ सय १० रुपैयाँ बराबरको प्रिमियम जम्मा भएको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ ।


अछाममा स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन दर्ता सहयोगी र स्थानीय सरकारसँग समन्वय गर्दै अघि बढाइए पनि कोरोना संक्रमणका कारण लक्ष्यअनुसारको प्रतिफल ल्याउन नसकिएको स्वास्थ्य बिमा बोर्ड अछामका कार्यालय प्रमुख तथा दर्ता अधिकृत मनकला न्यौपानेले बताइन् ।


जिल्लाका दस वटा पालिका गरी ९१ वडा भए पनि २१ जना दर्ता सहयोगी निष्कृय रहेका र ७० जनाले भने काम गरेको उनको भनाइ छ ।