close

स्थानीय तहको नेतृत्वमा विद्यालय सञ्चालन

स्थानीय तहको नेतृत्वमा विद्यालय सञ्चालन

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले स्थानीय तहको नेतृत्वमा विद्यालय परिवार परिचालित भई बालबालिकाको पढाइ अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । पढाइ व्यवस्थापनका लागि ५ वटा सहयोग प्रणालीको अवधारणा अघि सारेको सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत यस्तो अपिल गरेको हो । 


केन्द्रले शिक्षा क्षेत्रमा काम गर्ने सरकारी एवं गैरसरकारी संघ-संस्थाहरूलाई आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित स्थानीय तहमा सम्पर्क गरी विद्यार्थीको सिकाइ निरन्तरताका लागि सहयोग पुर्‍याउनसमेत आग्रह गरेको छ ।


सरकारले हालसम्म कोभिड रोग नियन्त्रणमा आइनसकेको र तेस्रो लहरको सम्भावनासमेत विज्ञबाट सार्वजनिक हुँदै आएको विद्यमान अवस्थामा विद्यार्थीको सिकाइमा निरन्तरता दिनु अपरिहार्य रहेको बताएको छ । 


सरकारले विद्यार्थीको सिकाइ निरन्तरताका लागि सबै किसिमका प्राविधिकको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूह, रेडियो र एफएमको पहुँचमा भएका विद्यार्थी समूह, टेलिभिजनको पहुँच भएका विद्यार्थी समूह, कम्प्युटर भएको तर अनलाइनको पहुँच नभएका विद्यार्थी समूह र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूह गरी ५ वटा समूहको वर्गीकरण गरेको छ । 


यी वर्गीकरणअनुसार विद्यार्थीको अवस्था पहिचान गरी सिकाइ निरन्तर गर्ने व्यवस्था मिलाई विद्यार्थीको पढ्न पाउने हकको सुनिश्चितताका लागि सम्पूर्ण अभिभावक, शिक्षक, विद्यालय एवं स्थानीय तहलाई सरकारले अनुरोध गरेको छ । 


सरकारले सिकाइ निरन्तरताका लागि स्थानीय तहहरूको नेतृत्वमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, अभिभावकलगायत सबै पक्ष परिचालित हुन आवश्यक रहेको बताएको छ । 


सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामार्फत बालबालिकासँग सम्बन्धित स्रोत-साधनको पहुँच उपलब्धताका आधारमा ५ वटा सहजीकरण सिकाइ प्रणालीको सहारा लिने निर्णय गरेको थियो ।