close

काठमाडाैं महानगरको आदेश: घरबाट फोहोर ननिकाल्नू 

काठमाडाैं महानगरको आदेश: घरबाट फोहोर ननिकाल्नू 

Trulli
ADVERTISEMENT

काठमाडौं- केही दिनयता देशको संघीय राजधानी काठमाडौंमा फोहोर उठ्न सकेको छैन । फोहोर व्यवस्थापनमा पटक-पटक लाचार बन्दै आएको काठमाडौं महानगरपालिकाले नगरबासीलाई सूचना जारी गरेर घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको छ ।

 

महानगरको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकाले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो ।

 

‘ल्यान्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौँ,’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

 

ल्यान्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै फोहोर उठाउन घरदैलोमा आउने महानगरले दाबी गरेको छ । महानगरले फोहोर नउठाएपछि काठमाडौंका सडकका छेउ-कुनामा फोहोर थुप्रिन सुरु भएको छ । अझै कति दिनपछि फोहोर उठ्छ भन्ने निश्चित छैन ।

 

काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोलमा रहेको ल्यान्डफिल्ड साइटमा विसर्जन गर्ने गरिएको छ । तर, अहिले ल्यान्डफिल्ड साइट जाने सडक बिग्रेको छ ।

 

फोहोर विसर्जन गर्ने अर्को विकल्प नभएकाले सिस्डलमा समस्या हुँदा काठमाडौं बेलाबेला दुर्गन्धित बन्ने गरेको छ ।