close

सोलु करिडोर प्रभावित क्षेत्रमा धमाधम विद्युतीकरण 

सोलु करिडोर प्रभावित क्षेत्रमा धमाधम विद्युतीकरण 

Trulli
ADVERTISEMENT

ओखलढुंगा- सोलु करिडोर प्रभावित क्षेत्रमा ग्रामीण विद्युतीकरण थालिएको छ । सोलुखुम्बुको सोलु खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न सोल करिडोर निर्माण अन्तिम चरणमा छ । यो करिडोर आयोजनाबाट प्रभावित नागरिकलाई बिजुली सहज रूपमा उपलब्ध गराउन सोलुखुम्बु र ओखलढुंगाका विभिन्न गाउँमा विद्युतीकरण भइरहेको छ ।


करिडोर क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यका साथ निर्माण थालिएको सोलु करिडोर १३२ केभी प्रशारण लाइन आयोजनाले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा ग्रामीण विद्युतीकरण थालेको हो । ७७ करोड रुपैयाँ लागतमा थालिएको विद्युतीरण अहिले अन्तिम चरणमा पुगेको छ ।


उक्त आयोजनामार्फत उदयपुरको लेखानी तथा घुर्मी क्षेत्र, ओखलढुंगाको ठाडे, टोड्के तथा मानेभन्ज्याङ गाउँपालिकाका सबैजसो क्षेत्र र सोलुखुम्बुको मुक्ली, देउसा, काँगेल, सल्यान, नेचा, केरुङ, बाघम, लाखोप, टाप्टिङ, गोराखानीलगायत क्षेत्रमा ग्रामीण विद्युतीकरण धमाधम भइरहेको छ । 


आयोजनाको पहिलो प्याकेज सोलुखुम्बु जिल्लामा ५० प्रतिशत काम सम्पन्न भएको छ भने दोस्रो प्याकेज उदयपुर र ओखलढुंगातर्फ ८० प्रतिशत बढी काम भइसकेको सोलु करिडोर ग्रामीण विद्युतीकरण आयोजनाका इलेक्ट्रिकल सुपरभाइजर दीपक राईले बताए । यो आयोजनाको दुवै प्याकेजको ठेक्का सिग्माकोन एन्ड मैनावति जेभीले गरिरहेको छ । कम्पनीले धेरैजसो क्षेत्रमा काम सम्पन्न गर्ने चरणमा छ । 


यद्यपि सोलुखुम्बु क्षेत्रमा भने कोरोना भाइरस र वर्षात्का कारण काम प्रभावित हुँदै आएको सिग्माकोन एन्ड मैनावति जेभीका साइट इन्चार्ज प्रबेज आलमले बताए । यो आयोजना ५ भदौ २०७८ मा सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको छ । विकासको पूर्वाधारले दशकौँ पछाडि धकेलिएका कुना–कन्दराका गाउँमा बत्ती बलेपछि स्थानीय खुसी छन् ।


मानेभन्ज्याङ गाउँपालिकास्थित तल्लो रिचुवाका स्थानीय मेकबहादुर राईले आयोजनाका कारण बत्ती बल्न थालेपछि स्थानीय खुसी भएको बताए । उनले भने, ‘सोलु करिडोर थिएन भने हाम्रो गाउँमा बिजुली निकै पछि मात्रै बल्थ्यो ।’ आयोजनाले गाउँ–गाउँमै ट्रान्सफर्मर राखेर घरघरै बिजुली जोड्न थालेको छ । यो आयोजनाबाट करिब १० हजार घरधुरी लाभान्वित हुनेछन् ।