close

सिसहनिया स्वास्थ्य चौकीमा भिडियो एक्सरे तथा इसिजी सेवा

सिसहनिया स्वास्थ्य चौकीमा भिडियो एक्सरे तथा इसिजी सेवा

Trulli
ADVERTISEMENT

दाङ- दाङको राप्ती गाउँपालिकाअन्तर्गत सिसहनिया स्वास्थ्य चौकीबाट भिडियो एक्सरे तथा इसिजी सेवा सुरु गरिएको छ । 


राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नागरिकको स्वास्थ्य सेवा सर्वसुलभ पाउने अधिकारलाई संस्थागत गर्न सिसहनियामा भिडियो एक्सरे तथा इसिजी सेवा सुरु गरिएको बताए । 


अध्यक्ष सुवेदीले राप्ती गाउँपालिकाको ९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा सुरु गरिएको बताउँदै नागरिकको स्वास्थ्य सुरक्षाका लागि पालिका लागिपरेको दाबी गरे । 


गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले स्वास्थ्य सेवा लिन चाहने नागरिकले भिडियो एक्सरे तथा इसिजी सेवा लिन महँगो शुल्क तिर्नुपर्ने र टाढा जानुपर्ने समस्या समाधान भएकाले सर्वसुलभ सेवाका लागि सरकारी स्वास्थ्य संस्था रोज्नुपर्नेमा जोड दिइन् । 


राप्ती गाउँपालिकाले गत वर्ष लालमटिया स्वास्थ्य चौकीबाट भिडियो एक्सरे तथा इसिजी सेवा सुरु गरेपपछि सिसहनिया स्वास्थ्य चौकीमा यस्तो सुविधा सुरु गरेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।


नागरिकको स्वास्थ्य उपचारका लागि अन्य आवश्यक उपकरणको व्यवस्था गर्न थप पहल भइरहेको सिसहनिया स्वास्थ्य चौकी सञ्चालक समिति अध्यक्ष तथा वडा नम्बर ५ का वडाध्यक्ष गोवद्र्धन रावतले बताए । 


गर्भवती चेकजाँच, मिर्गाैला, छाती, कलेजो, पित्त, पाठेघर, पेटलगायत महिला पुरुषमा देखिने स्वास्थ्य समस्या समाधानका लागि भिडियो एक्सरे तथा इसिजी सेवा प्रभावकारी रहेको डा. पुष्प भुसालको भनाइ छ ।


सर्वसुलभ रूपमा चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिन स्वास्थ्य चौकी प्रमुख धनबहादुर खड्काले आग्रह गरे ।