close

टर्कीबाट बेलका आइपुग्यो अक्सिजन प्लान्ट

टर्कीबाट बेलका आइपुग्यो अक्सिजन प्लान्ट

Trulli
ADVERTISEMENT

उदयपुर(बेलका)- उदयपुरको बेलका नगरपालिकामा स्थापना हुने अक्सिजन प्लान्ट सोमबार बेलका नगर परिसरमा आइपुगेको छ ।


‘अनमोल प्राण वायु, अभावमा नजाओस् कसैको आयु’ नाराका साथ बेलका नगरपालिकाले सञ्चालन गर्न लागेको अक्सिजन प्लान्ट निर्माणका लागि भवन तयार भइसकेको छ ।

 

दैनिक प्रतिघन्टा ११ सय ५० मिटर क्युबिक ३८ सिलिन्डर प्रतिदिन उत्पादन क्षमता रहेको अक्सिजन प्लान्ट १५ भदौसम्म जडान गरी उत्पादन सुरु हुने बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापाले जानकारी दिए । अक्सिजन प्लान्ट टर्कीबाट ल्याइएको हो ।


‘राष्ट्रिय आविष्कार केन्द्रले अक्सिजन प्लान्टको स्पेसिफिकेसन गरी पूर्ण रूपमा प्रमाणीकरण गरेपछि मात्र पिडिइ इन्जिनियरिङ प्रालिलाई दोस्रो किस्ताबापतको रकम भुक्तानी दिन्छौँ ।  अक्सिजनसँगै नाइट्रोजन ग्याससमेत उत्पादन गर्ने गरी प्लान्ट स्थापना गर्न लागेका हौँ’, नगरप्रमुख थापाले भने ।

 
बेलकामा पछिल्लो समय अक्सिजन अभाव भएपछि कोरोना संक्रमितले मृत्युवरण गर्नुपरेको थियो । अक्सिजन अभावकै कारण कोही पनि बिरामीले मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो ।


धेरै रकम लगानीभन्दा पनि धेरैको सहभागितामा निर्माण गर्ने नगरको योजनाबमोजिम १५ भदौदेखि उत्पादन सुरु गरिएपछि बेलका अक्सिजनमा आत्मनिर्भर हुने नगरप्रमुख थापाले दाबी गरे ।

 

अक्सिजन प्लान्ट स्थापनाका लागि उदयपुरका ८ वटा स्थानीय तह, छिमेकी पालिका, विभिन्न गैरसरकारी संस्था र व्यक्तिको आर्थिक सहयोगमा प्लान्ट सञ्चालनमा आउन लागेको हो ।