close

निजी क्षेत्रसँग हातेमालो गर्छौं: मुख्यमन्त्री केसी

निजी क्षेत्रसँग हातेमालो गर्छौं: मुख्यमन्त्री केसी

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको अक्षरशः पालना र संघीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको नवउद्यमशाला कार्यक्रमको बुटवलमा समापन गर्दै मुख्यमन्त्री केसीलेसंविधान र संघीयता कार्यान्वयन गर्नु प्रदेश सरकारको दायित्व भएको जानकारी दिए ।

 

मुख्यमन्त्री केसीले कोरोना संक्रमणबाट जनताको जीवन बचाउने अभियानलाई सरकारले पहिलो प्राथमिकता दिने बताउँदै त्यसमा साथ सहयोग गर्न सबैसँग आग्रह गरे । निजी क्षेत्रको प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याइनेसमेत आश्वासन दिए ।


बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले संघले आफ्नो सचिवालय भवन लुम्बिनी प्रदेशसभालाई उपलब्ध गराएर सहयोग गरे पनि यस पटकको बजेटमा बुटवलका अन्य व्यावसायिक संस्थालाई बजेट दिएर संघलाई नदिइएको गुनासो गरे ।

 

मुलुकको औद्योगिक विकासमा योगदान गर्न नवप्रवेशी उद्योगीको विकास र प्रवद्र्धनका लागि नवउद्यमशाला कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्यमी निर्माण गर्ने र नवप्रवेशी उद्योगीलाई प्रोत्साहन तथा प्रवद्र्धनको काम आफैंमा महत्त्वपूर्ण भएको बताए ।

 

बुटवल उद्योग वाणिज्य संघ, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, नेपाल युवा उद्यमी मञ्च रूपन्देही र अन्तरप्रेरणा प्रालिको सहकार्यमा नवीनतम सोच भएका नवउद्यमीलाई व्यवसाय गर्न सहयोग गर्ने उद्देश्यले रूपन्देहीमा प्रथम बिजनेस इन्क्युवेसन कार्यक्रम सञ्चालन गरिएको थियो । 

 

९ महिनादेखि सञ्चालनमा रहेको यस कार्यक्रममा ४ जना नवउद्यमीलाई उद्यमशीलता क्षेत्रका विज्ञबाट प्रशिक्षण तथा प्रोत्साहन प्रदान गरिएको थियो । कार्यक्रमले उद्यमशीलता विकासमा संलग्न सरोकारवालाको सन्जाल विस्तार, विकास र स्टार्टअप इकोसिस्टम संस्थागत गर्न योगदान पुर्‍याएको संघले जनाएको छ । 


रोजगार सिर्जना गरेर विकास प्रक्रियालाई सहयोग पुर्‍याउने र नयाँ स्टार्टअपको वृद्धि गर्दै नयाँ व्यवसाय र विचारलाई प्रवद्र्धन गर्ने बिजनेस इन्कुवेसन कार्यक्रमको उद्देश्य रहेको बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताए ।


केन्द्रले उद्यमीको सशक्तीकरणका लागि विभिन्न उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ । रूपन्देही नवउद्यमशालाको समापन अवसरमा सहभागीले आ–आफनो व्यवसायबारे प्रस्तुति तथा लगानी आह्वान गर । त्यस अवसरमा अन्तरप्रेरणा प्रालिका प्रमुख कार्यकारी अधिकृत निरज खनालले कार्यक्रमको उद्देश्य, महत्त्व र भावी योजनाबारे जानकारी गराए । 


कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, नेपाल युवा उद्यमी मञ्च रूपन्देहीका अध्यक्ष प्रदीप शाक्य, लुम्बिनी वाणिज्य क्याम्पसका प्राध्यापक गोपालप्रसाद पाण्डे, अन्तरप्रेरणाकी स्वेच्छा अधिकारीलगायतले भनाइ राखेका थिए ।