close

देशकै पहिलो महिला मुख्यमन्त्री बनेकी शाक्य को हुन् ?

देशकै पहिलो महिला मुख्यमन्त्री बनेकी शाक्य को हुन् ?

Trulli
ADVERTISEMENT

काठमाडौ- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला मुख्यमन्त्री बनेकी छिन् । शाक्यलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि  निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार शाक्य मुख्यमन्त्री बन्न सफल भएकी हुन् ।

 

नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भइसकेकी छिन् । 

 

को हुन् मुख्यमन्त्री शाक्य ? 

एमालेका उपाध्यक्ष शाक्य २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् । काठमाडौँ शहरको नेवार समुदायमा जन्मिएर कम्युनिष्ट राजनीतिमा होमिएकी शाक्यले लामो समय राजनीतिमा बिताएकी छिन् । २०५६ मा काठमाडौँबाट सांसद बनेकी उनी दोस्रो संविधानसभामा सदस्यसमेत भइन् । उनले पार्टीका विभिन्न विभागको जिम्मेवारी निर्वाह गरेकी छिन् । 


६८ वर्षीय शाक्य २०३६ सालमा घर छाडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन् । भूमिगत राजनीति गर्दा शाक्य २०४५ मा इलामका पक्राउ परेकी थिइन् ।  


मुख्यमन्त्री शाक्यको जन्म विसं २०१० को दशैँको अष्टमीका दिन काठमाडौँको हनुमानढोका दरबार स्क्वायर नजिकैको झोचेनको नेवार परिवारमा भएको थियो । आमाबुबाका आठ सन्तानमध्ये उनी दोस्रो सन्तान हुन् । मुख्यमन्त्री शाक्य र उनका पति अमृतकुमार बोहराबीच  २०३८ मा जनवादी विवाह भएको थियो । 

 

भूमिगत राजनीतिकै क्रममा चिनजान भएका बोहरासँग शाक्यले विवाह गरेकी थिइन् । उनका श्रीमान  बोहरा पनि राजनीतिमा सक्रिय छन्  ।  नेपाली राजनीतिमा अष्टलक्ष्मीको नाम महिला नेतृको अग्रभागमा आउने गर्दछ । उनले १८ वर्षको उमेरमा विद्यालय तह उत्तीर्ण गरेपछि चिनियाँ भाषा अध्ययन गरेकी थिइन् । 

 

चिनियाँ भाषा सिकेपछि शाक्य चीनको राजनीतिक व्यवस्थालाई बुझेकाले कम्युनिष्ट राजनीतिमा लाग्न बल पुगेको बताउँछिन् ।  एमालेको महिला सङ्गठनलाई मजबुद बनाउन शाक्यको विशेष भूमिका रहेको छ ।  एमालेको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी शाक्य नवौँ अधिवेशनबाट उपाध्यक्ष बनेकी थिइन् । 


दुई मन्त्रीको शपथ

प्रदेशका नवनियुक्त दुई मन्त्रीले बुधबार राति पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकासमन्त्रीमा कृष्ण खनाललाई शपथग्रहण गराएका थिए । 

खोप पहिलो प्राथमिकता: प्रदेश सरकार 

शाक्य मुख्यमन्त्री भएपछि प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को  बैठकले कोभिड खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिए । बैठकले पाण्डेलाई सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएको छ