close

सिसडोल भरिँदा काठमाडौंमा थुप्रियो फोहोर

गिजोलिँदै संघीय राजधानी महानगरको क्लिन सिटी, ग्रिन सिटी नारा

सिसडोल भरिँदा काठमाडौंमा थुप्रियो फोहोर

गिजोलिँदै संघीय राजधानी महानगरको क्लिन सिटी, ग्रिन सिटी नारा

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं उपत्यकाका तीन वटै स्थानीय तहले व्यवस्थापन गर्दै आएको फोहोरले सिसडोल भरिएपछि यतिबेला संघीय राजधानीका बाटाघाटामा हिँड्न नसक्ने अवस्थामा छन् । कोरोना महामारीका बेला स्वास्थ्य सतर्कता अपनाउन सरकारले आग्रह गरे पनि राजधानी काठमाडौंमा थुप्रिएको फोहोरले अर्को रोग निम्त्याउने त्रास उत्तिकै छ ।


सिसडोल पुग्ने सडक लगातारको वर्षाले क्षतविक्षत बनाएपछि गत सोमबार काठमाडौं महानगरले सूचना जारी गर्दै एक साता फोहोर घरबाहिर ननिकाल्न नगबासीलाई अनुरोध गरेको थियो । तर, साता दिन कटिसक्दा पनि काठमाडौंको फोहोर उठ्ने छाँटकाँट देखिन्न । 


काठमाडौंका गल्ली, चोक जताततै फोहोरका डंगुर देख्न सकिन्छ । यसले महानगरलाई गिज्याइरहेको भान हुन्छ । सिसडोलमा फोहोर फाल्न थालेदेखि नै महानगरले उचित व्यवस्थापन नगर्दा बेलाबेला काठमाडौं फोहोरले भरिन्छ । 


महानगरका अनुसार निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहोर व्यवस्थापन हुने छैन । ‘चार दिनदेखि साविकझै फोहोर उठ्न सकेको छैन । वर्षाको समय भएकाले अन्य बेलाभन्दा बढी फोहोर उत्पादन हुने गर्दछ । सकेसम्म कम फोहर निकाल्ले र त्यसलाई बाहिर सडकमा नभई घरमै व्यवस्थापन गर्न नागरिकलाई आग्रह गरेका हौँ’, महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने । 

 

उनका अनुसार सिसडोल भरिएको र तत्कालका लागि केही व्यवस्थापन गर्ने प्रयास भइरहे पनि अझै केही दिन उपत्यकाका सडक गल्लीका फोहोर उठाउन सकिन्न । निरन्तर पानी परिरहँदा सिसडोलमा रहेको फोहरको थुप्रो व्यवस्थापन गर्न असहज भएको उनको दाबी छ । 


महानगरले केन्द्र सरकारसँग छिटोभन्दा छिटो दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडा निर्माण गरेर सिसडोलको विकल्प दिन आग्रह गरेको छ । तर, अहिलेसम्म दिगो व्यवस्थापनमा कुनै पनि सरकारले ध्यान दिन सकेको देखिँदैन । 


फोहोरमा राजनीति गरिएपछि सिसडोलका बासिन्दा आन्दोलित हुन्छन्, महानगरले सम्झौता गर्छ तर कार्यान्वयनमा ध्यान नदिँदा वर्षौंदेखि उपत्यकाको फोहोर व्यवस्थापनमा व्यवधान देखिँदै आएको छ । 


उपत्यकामा सामान्य समय हरेक दिन २ सय गाडीले फोहोर व्यवस्थापन गर्दै आएका थिए । अहिले ५० गाडी पनि जान समस्या रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । एकातिर सिसडोल भरिएको छ भने अर्कातिर ल्यान्डफिल साइट जाने सडक केही दिनदेखि परेको अविरल वर्षाका कारण बिग्रेकाले मर्मतका लागि केही दिन लाग्ने उनको भनाइ छ ।


काठमाडौंका सडक किनारामा जताततै फोहोर राखिँदा दुर्गन्ध फैलिएको छ । महानगरले दुई वर्षका लागि १३ वर्षदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिसडोलमा रहेको ल्यान्डफिल साइटमा विसर्जन गर्दै आएको छ । 

हाल फोहोर विसर्जन भएको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न २२ वैशाख २०७६ मा एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोसी एन्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता भएको थियो । 


बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापन स्थल निर्माणको काम समयमै नसकिँदा समय-समयमा फोहोर व्यवस्थापनमा समस्या आइरहेको महानगरको दाबी छ । सिसडोलमा नियमित फोहोर व्यवस्थापन हुने बेला महानगरले दिगो व्यवस्थापनमा फिटिक्कै ध्यान नदिने र समस्या आएपछि मात्र जुर्मुराउने गर्दा पनि समस्या हुँदै आएको छ ।