close

अब ७ वटै प्रदेशमा सरकारी मेडिकल कलेज

अब ७ वटै प्रदेशमा सरकारी मेडिकल कलेज

Trulli
ADVERTISEMENT

काठमाडौ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । 


मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले ७ वटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममै प्रदेश २ मा मधेस स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुरु भएको बताए ।


उनका अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालय मेडिकल स्कुललाई सार्वजनिक मेडिकल कलेजको रूपमा तोकी चिकित्सा शिक्षा ऐन, २०७५ को प्रावधानअनुसार छात्रवृत्ति कायम गर्ने प्रक्रियासमेत सुरु भइसकेको छ । 

 

मन्त्रालयले यसअघि विभिन्न मितिमा सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेका सम्झौता कार्यान्वयनका लागि प्रतिबद्ध भएको जनाएको छ । 


सह–प्रवक्ता डा. अधिकारीले शिक्षा ऐन, २०७५ को प्रावधानअनुसार २०८५ देखि नेपालको मेडिकल शिक्षा गैरनाफामूलक हुने भएकाले त्यो नीति कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए । 


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस भर्ना प्रक्रिया सुरु भइसकेको र गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि पूर्वाधार अन्तिम चरणमा पुगिसकेको जनाएको छ । 


उनले कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा २०७३ मा तयार भएको मापदण्ड समयसापेक्ष परिमार्जन गर्न हाल छलफलको क्रममा रहेकाले उक्त परिमार्जित मापदण्डअनुसार पदाधिकारी नियुक्ति प्रक्रिया थालिने जानकारी दिए । 

 

छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दोषी ठहर भएका कुनै पनि पदाधिकारीलाई संरक्षण गर्ने नीति मन्त्रालयको नभएको विज्ञप्तिमा उल्लेख छ ।