close

कास्कीभरि पालिएका सबै पशुलाई खोप लगाइँदै

कास्कीभरि पालिएका सबै पशुलाई खोप लगाइँदै

Trulli
ADVERTISEMENT

कास्की- कोरोना संक्रमणको जोखिम न्यून पार्न जिल्लावासीले खोप लगाउन नपाइरहेका बेला यहाँका सबै पशुचौपायालाई भने विभिन्न रोगविरुद्ध खोप लगाइने भएको छ।


‘स्वस्थ पशु, समृद्ध किसान, पूर्ण खोप अभियान’ नारासहित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले जिल्लाभरिका सबै चौपायालाई खोप दिन लागेको हो। 


भैँसीलाई खोरेत र एचएसविक्यू, भेडाबाख्रालाई पिपिआर र खोरेत, बंगुरलाई हैजा र कुकुरलाई रेबिजविरुद्ध खोप दिइने छ ।


खोप अभियान थाल्न सुरुआतमा पशु तथ्यांक संकलन, खोपको महत्वबारे प्रचारप्रसार, खोप खरिद तथा भण्डारण र खोपकर्ता छनोट गरी अभिमुखीकरण गरिनेछ । यसपछि खोप लगाउन थालिनेछ । 


गाई, भैँसी र बंगुरलाई किसानका गोठ र फार्ममा नै खोप लगाइनेछ । भेडा, बाख्रा र कुकुरलाई भने निश्चित ठाउँमा खोप लगाइनेछ ।


यस वर्ष पोखरा महानगरपालिका, मादी र अन्नपूर्णका सबै पशुलाई खोप लगाइने पशु अस्पतालका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले बताइन् ।


उनका अनुसार यसअघि पूर्ण खोप पालिका घोषणा भएका माछापुच्छ्रे र रूपामा समेत थपिएका पशुलाई खोप दिइनेछ । गत वर्ष माछापुच्छ्रे र रूपा गाउँपालिकाभरिका सबै पशुमा खोप लगाइएको थियो ।


'महामारीजन्य र जुनोटिक ९मानव र पशुपक्षीबीच आपसमा सर्ने० रोग नियन्त्रण गर्न, बिरामी हुनबाट बचाउन र किसानले पशुचौपायामा गरेको लगानी सुरक्षित गर्न पशुमा खोप लगाउन महत्वपूर्ण छ, प्रमुख डा शर्माले भनिन्, 'सबैको सहयोगबाट कास्कीलाई पूर्ण पशु खोपयुक्त जिल्ला बनाउने योजनामा छौँ ।'


कार्यालयले खोप लगाइसकेपछि परीक्षणबाट पशुमा विकसित प्रतिरोधात्मक क्षमता मापदण्डअनुसार भए मात्र पूर्ण खोपयुक्त घोषणा गरिने जनाएको छ । 


भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सबनम शिवाकोटीले ३ वर्षभित्र गण्डकी प्रदेशका सबै ८५ स्थानीय तहमा पशुका लागि पूर्ण खोप कार्यक्रम सञ्चालन गर्ने बताइन् ।