close

सुन्दरबजारका नगरबासीलाई बाँडियो सित्तैमा विद्युतीय चुह्लो 

सुन्दरबजारका नगरबासीलाई बाँडियो सित्तैमा विद्युतीय चुह्लो 

Trulli
ADVERTISEMENT

लमजुङ- लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ३ का घर–घरमा विद्युतीय चुह्लो बाँडिएको छ । वडा कार्यालयले सबै घरधुरीमा विद्युतीय चुह्लोको व्यवस्था गरेको हो । गत आर्थिक वर्ष २०७७/७८ को कार्षिक कार्यक्रमअन्तर्गत एक घर एक विद्युतीय चुह्लो वितरण गरेकोे वडा कार्यालयले जनाएको छ ।

 

वडा कार्यालयले गत आर्थिक वर्षमा विनियोजन गरेको १० लाख रुपैयाँ बजेटबाट चुह्लो खरिद गरी वितरण गरेको वडाध्यक्ष अमृत न्यौपानेले बताए । गत आर्थिक वर्षमा खरिद गरी राखिएको चुह्लो बुधबार वितरण गरिएको हो । 

 

कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि गरिएको निषेधाज्ञाका कारण अघिल्लो आर्थिक वर्षमा वितरण गर्न नसकिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।


भारतबाट खरिद गरी ल्याउनुपर्ने भएकाले वितरणमा ढिलाइ भएको वडा कार्यालयले बताएको छ । वडा कार्यालयले ५ सय थान विद्युतीय चुह्लो वितरण गरेको वडा सचिव शिव श्रेष्ठले जानकारी दिए ।


वडाभित्र रहेका ४ सय ९० घर र १० वटा सामाजिक संघ–संस्था गरी ५ सय थान चुह्लो वितरण गरेको उनले बताए । वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी कार्यालय, सामुदायिक भवनका लागि १÷१ थान चुह्लो वितरण गरिएको छ । 


वडाभित्रका नागरिकले प्रत्यक्ष लाभ लिन सकून् भनेर एक घर एक विद्युतीय चुह्लो वितरण कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष न्यौपानेको भनाइ छ । जिल्लामा उत्पादन हुने विद्युत् खपत गर्दै ग्यास प्रयोग कम गर्न विद्युतीय चुह्लो वितरण गरिएको उनले बताए ।

 

विद्युतीय चुह्लो वितरण कार्यक्रममा सुन्दरबजार नगरपालिका उपप्रमुख ज्ञानु शाहले जनताले प्रत्यक्ष रूपमा लाभ लिने कार्यक्रम सञ्चालन गरेकामा वडा कार्यालयलाई धन्यवाद दिइन् ।

 

कार्यक्रममा वडा सदस्य कृष्णप्रसाद अधिकारीले विद्युतीय चुह्लो प्रयोग गर्ने तरिकाबारे जानकारी गराए । वडा कार्यालयले सूर्य कम्पनीको विद्युतीय चुह्लो खरिद गरी वितरण गरेको हो । प्रतिचुह्लो १ हजार ९ सय ७५ रुपैयाँमा खरिद गरी वितरण गरेको वडा सचिव श्रेष्ठले बताए ।