close

देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट

देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट

Trulli
ADVERTISEMENT

सर्लाही– सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ । 

 

पूर्व-पश्चिम राजमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ । वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाका अनुसार मोटरबोट सञ्चालनमा आएदेखि सो ताल पर्यटकीय केन्द्र बनेको छ । यहाँ यो ताल हेर्न र जेटबोट चढ्न देशका विभिन्न ठाउँबाट दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 

 

नगर प्रमुख थापाको विशेष पहलमा करिब १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ ४५ फिट छ । गर्मीयाममा यहाँ मोटरबोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीय र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन् । 

बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ । यस तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आगामी दिनमा माछापालन गरिने नगरपालिकाले योजना बनाएको छ । 

 

नगरपालिकाभित्रका करिब एक हजार २०० बेरोजगार युवालाई रोजगारी दिने योजनाका साथ तालको निर्माण सुरु गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिइन् । उनका  अनुसार नगरको अर्थाेपार्जनका लागि ताल महत्वपूर्ण स्रोत बन्न सक्छ । 

 

ताललाई व्यवस्थित गर्दै बगैँचा, पार्क र वनभोजस्थलका रुपमा पनि विकास गर्ने योजना नगरपालिकाकोे छ । ताल निर्माणमा करिब ३० करोड रुपैयाँ खर्च भइसकेको छ ।

 

सोही तालको अध्ययन अवलोकन भ्रमणमा आएका तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले वाग्मती नगरपालिकाका नगरप्रमुख थापासँग भेट गरी पर्यटन क्षेत्रको विकासका विषयमा छलफल गरेका छन् । 

सो तालमा ‘नेपाल सिट एण्ड बोट बिल्डिङ’ कम्पनीद्वारा उत्पादन गरिएका राइनोज, फिस्टेल, जेट बोट नामका मोटर बोट सञ्चालन हुने नेपाल सिट एण्ड बोट बिल्डिङ कम्पनीका अध्यक्ष लेखनाथ पौडेल जानकारी दिए । ३०० सिट क्षमताको तीनतले मिनी क्रुजको पनि डिजाइन भइरहेको र यसमा २६ वटा डिलक्स कोठा, रेष्टुरेन्ट र सेमिनार हल रहने बताइएको छ । 

 

उक्त क्रुजमा जापान र चीनमा बनेका इञ्जिन जडान गरिनेछ । ताल र यसको वरपरको पर्यटकीय विकासको अध्ययन र अवलोकन भ्रमणका लागि देशका विभिन्न पालिकाका जनप्रतिनिधिहरु आउने गरेका छन् ।