close

अछामीलाई नौ मुठे गाई लोप हुने पिरलो

अछामीलाई नौ मुठे गाई लोप हुने पिरलो

Trulli
ADVERTISEMENT

अछाम- विश्वको सबैभन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने यो जातको गाई लोप हुने अवस्थामा पुगेको छ ।

 

अगाडिको खुट्टादेखि जुरोसम्मको उचाइ मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने भएकाले यस गाईलाई स्थानीयबासीले नौ मुठे गाई भन्ने गरेको साँफेबगर नगरपालिकाका पशु सेवा शाखाका प्रमुख पदम थापाले बताए ।


‘यो गाईलाई थोरै आहारामा पाल्न सकिन्छ । यो अरू गाई पाल्नजस्तो समस्या हुँदैन । यसको दूध अन्य गाईको भन्दा मीठो र पोषिलो हुन्छ’, उनले भने, ‘यो गाईको संख्या न्यून भएको र किसानले पाल्न छाडिसकेकाले लोप हुने स्थितिमा छ ।’


पशु सेवा शाखाबाट अछामी नौ मुठे गाई संरक्षणका लागि कृषकलाई गोठ सुधार, समूहमार्फत घाँसको बिउ वितरणलगायत कार्यक्रम गरिँदै आएको उनले बताए । पछिल्लो समय नौ मुठे गाई लोपोन्मुख अवस्थामा पुगेको भन्दै यसको संरक्षणका लागि चेतना अभिवृद्धि गर्ने उद्देश्यले संरक्षणसम्बन्धी कार्यक्रम चलाइँदै आएको छ ।


‘यसलाई दिइने घाँसपातको तुलनामा दूध धेरै हुन्छ । यो गाईलाई राम्रोसँग स्याहार–सुसार गर्न सके उत्पादकत्व अझ बढ्न सक्छ,’ साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाडौंका कालुसिंह कुँवरले भने, ‘यसको दूध निकै पोषिलो हुन्छ । १ सय ५० किलोग्राम तौल भएको यो गाईले दुई देखि तीन मानासम्म दूध दिनु भनेको हजार किलोग्राम तौल हुने उन्नत जातको गाईले दिने दूधभन्दा तुलनात्मक रूपले बढी हो ।’

 

अछामका विभिन्न गाउँ तथा बस्तीमा रहेका नौ मुठे गाईको संख्या करिब ५ सय ७४ को हाराहारी रहेको तथ्यांक जिल्ला पशु सेवा कार्यालय अछामसँग छ । तथ्यांकअनुसार नौ मुठे गाईको संख्या ज्यादै न्यून छ । साविकका केही गाविसमा मात्र यो गाई पाल्ने गरिएको छ । जिल्ला पशु कार्यालय अछामका अनुसार कुनै पनि प्रजातिमा पोथीको संख्या हजारभन्दा कम भए उक्त प्रजाति संरक्षणका दृष्टि कोणबाट खतराको स्थितिमा हुन्छ ।

 

यो गाई मुख्यगरी अछामको बाब्ला, घुघुरकोट, देवीस्थान, बुढाकोट, मष्टामाडौं र खप्तडमा पाइन्छ । नौ मुठे गाईको तथ्यांक हेर्दा अत्यधिक गर्मी हुने क्षेत्र अछामको साँफेबगर र अति न्यून तापक्रम भएको खप्तड क्षेत्रमा समेत यो गाई पाल्ने गरेको देखिन्छ ।


‘हावापानीले खासै असर नपर्ने यो प्रजातिको गाई नेपालको जुनसुकै पहाडी जिल्लामा पनि सफलतापूर्वक पाल्न सकिन्छ भन्नेमा दुईमत छैन’, पशु शाखा प्रमुख थापाले भने, ‘यो गाई अछाममा मात्र पाइने भए पनि पछिल्लो समय छोरीको विवाहमा दाइजोस्वरूप दिने चलनले अन्य जिल्लामा समेत पाइन थालेको छ ।’ यो प्रजातिका गाईले एक बेतमा करिब दुई सय लिटरसम्म दूध दिन्छन् ।