close

टीकापुरमा विपदको पूर्वअनुमान गर्न र जोगिने तरिका सिकाइयो

टीकापुरमा विपदको पूर्वअनुमान गर्न र जोगिने तरिका सिकाइयो

Trulli
ADVERTISEMENT

कैलाली- भविष्यमा आइपर्न सक्ने कुनै पनि प्राकृतिक वा मानवीय विपदको पूर्वअनुमान तथा पूर्वतयारीबारे सिकाइएको छ । जानकी गाउँपालिकामा सम्भावित विपदको पूर्वतयारी गरी स्थानीय समुदायमा बाढीबाट हुन सक्ने क्षति कसरी न्यून पार्न सकिन्छ भनी सिकाइएको हो ।


अभिमुखीकरणमा जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले विपदसम्बन्धी काम गर्ने पालिकाभित्रका सबै संघसंस्था र पालिकाबीच समन्वय गरी काम गर्नुपर्नेमा जोड दिए । उनले विपदको पूर्वतयारी गरे बाढीबाट हुने क्षति कम गर्न सकिने बताए । बाढीबाट हुने सक्ने क्षति न्यून गर्न पालिकादेखि स्थानीयसम्म सबैसँग सचेत रहन उनले अनुरोध गरे । 


वडा ७ का अध्यक्ष लक्ष्मण चौधरीले आफ्नो वडामा बर्सेनि बाढीले क्षति गर्ने भएकाले क्षति कम गर्न अग्ला ठाउँमा भवन तथा उचाइमा बाटो निर्माण गरेको, विपद कोष स्थापना गरेको बताउँदै विपद पूर्वतयारी, विपद प्रतिकार्यलगायत सबैको समिति बनाएर काम गरिरहेको बताए । 


“हामी वडामा बाढीबाट  जनधनको क्षति हुन नदिन उचाइमा भवन र बाटो निर्माण, विपद जोखिम कोषको स्थापनाका साथै समुदायमा गठन गरिएका विपद पूर्वतयारी समितिलाई पनि तम्तयार राखेका छाैँ,” उनले भने । आफू विपद पूर्वतयारी समितिसँग नियमित सम्पर्कमा रहेको पनि उनले बताए । 


वडा ४ का अध्यक्ष गगनसिंह चौधरीले विभिन्न संघसंस्थासँग समन्वय गरी पूर्वतयारीको काम गरिरहेको बताए । “हाम्रो वडामा विपदसम्बन्धी काम गर्ने संघसंस्थासँग समन्वय गरिरहेका छौं । संस्थाले लाइफ ज्याकेटलगायत सामग्री उपलब्ध गराएको छ र हामीसँग विपद पूर्वतयारी समिति पनि छ, उनीहरुसँग सहकार्य गरेका छौं,” .उनले भने । 


नेपाल रेडक्रस सोसाइटी जिल्ला विपद व्यवस्थापन समिति सदस्य तथा नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका सभापति जगदीश्वर पण्डितले विपदसम्बन्धी योजना बनाएर कार्यान्वयन गर्न सके मात्र विपदबाट हुने क्षति न्यून पार्न सकिने बताए । 


कार्यक्रमबारे पूर्वानुमानमा आधारित पूर्वकार्य तथा विपद उत्तरदायित्व सामाजिक सुरक्षा  कार्यक्रमका संयोजक विनोद लामिछानेले विगतमा बाढीपछि प्रतिकार्यका काम गरे पनि अहिले पूर्वानुमानमा आधारित भएर समुदाय र जनधन जोगाउन कार्यक्रम गरिरहेको बताए । 


जानकी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा विपद पूर्वतयारी, विपद पूर्वकार्य र यसको महत्व, पूर्वतयारीमा गरिने गतिविधि लगायतबारे छलफल भएको थियो ।