close

विपन्न परिवारका छात्रालाई वार्षिक १० हजार दिँदै तानसेन 

विपन्न परिवारका छात्रालाई वार्षिक १० हजार दिँदै तानसेन 

Trulli
ADVERTISEMENT

पाल्पा- शिक्षामा छोरीको पहुँच बढाउन, सुरक्षित भविष्य तथा सशक्तीकरणका लागि तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

 

छोरी शिक्षा कार्यक्रमले तानसेनका विपन्न परिवारका अभिभावकहरू खुशी भएका छन् । विपन्न परिवारका छात्राले कक्षा छाड्ने तथा कक्षा दोहोर्‍याउने समस्या बढ्दै गएपछि नगरपालिकाले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति कार्यक्रम ल्याएको हो । 

 

कार्यक्रमअन्तर्गत विद्यालय जाने छात्राले वार्षिक  १० हजार रुपैयाँ सुविधा पाउने भएका छन् । नगरभित्रका दलित, जनजाति तथा जेहेन्दार छात्राको सिकाइ प्रभावकारी बनाउने र कक्षा ८ देखि १० सम्मको अध्ययन पूरा गराउने योजनाका साथ यो कार्यक्रम ल्याएको नगर शिक्षा शाखाका प्रमुख रेशमलाल न्यौपानले बताए ।

 

उच्च शिक्षा हासिल गराउने, छात्राको अध्ययनलाई सीपमूलक, प्राविधिउन्मुख बनाउने, नेतृत्व क्षमता विकास गरी सार्वजनिक रोजगारीका क्षेत्रमा पहुँच बढाउने उद्देश्यले यो कार्यक्रम ल्याएको  न्यौपानेको भनाइ छ । 

    
प्रत्येक वडाबाट दलित दुई जना, जनजाति एक जना र अन्य दुई जना गरी पाँच जनाले ‘छोरी शिक्षा कार्यक्रम’ मा सहभागी हुन पाउने छन् । नगरपालिकाभित्र १४ वडाबाट कूल ७० छात्राले यो कार्यक्रमको सुविधा पाउने छन् ।