close

बन्द कोठमा के गर्दै छन् ओली-प्रचण्ड ?

बन्द कोठमा के गर्दै छन् ओली-प्रचण्ड ?

Trulli
ADVERTISEMENT

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमलल दाहाल (प्रचण्ड) आज (बिहीबार) पार्टीभित्रको समस्या हल गर्न भन्दै बालुवाटारको बन्द कोठमा छलफलमा छन् ।

 

नेकपाभित्रको शक्ति संघर्ष सुरु भएयता यी दुई अध्यक्षबीचको भेट आजसम्म आइपुग्दा ५०औंँ पटकभन्दा बढी भइसकेको छ ।

 

गत ४ असोजमा बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् पुर्नगठन  गर्ने र एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी दुई अध्यक्षलाई दिएको थियो ।

 

सचिवालय हुँदै स्थायी कमिटीसम्म पुग्दा पार्टी एकता नै धरापमा पर्ने गरी विवादमा उत्रिएका शीर्ष नेताबीच पदीय भागवण्डाले शान्त बनाएको नेकपा राजनीति फेरि धमिलिन थालेको छ ।

 

४ असोजको सचिवालय बैठकले अधिकार दिनुअघि र पछि गरेर अध्यक्षद्वयबीच दर्जनौँ पटक बालुवाटारको बन्द कोठामा छलफल भए पनि कुनै सहमति भएको छैन ।

 

‘दुई नेता बन्द कोठामा के छलफल गर्छन्, के सहमति गर्छन्, केही थाहा हुँदैन, बस्छन्, उठ्छन् गरिरहन्छन् पार्टीलाई बर्बाद नै पार्ने भए,’ नेकपा सचिवालयका एक सदस्यले पालिकाखबरसँग भने, ‘आज धेरै दिनपछि फेरि बालुवाटारको बन्द कोठामा छलफल छ, धेरै प्रगति भए अर्को दिन छलफल गर्ने सहमति होला ।’

 

२० असोजको सचिवालय बैठकपछि पहिलो पटक बालुवाटारमा छलफलमा जुटेका नेताबीच मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्तिमा भागवण्डाको छलफल मिल्न सकेको छैन ।

 

वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालको ‘मुख्यमन्त्री बदल्ने र पावर शेयरिङमा ओलीलाई कस्ने’ रणनीतिमा प्रचण्डको स्पष्ट अडान नहुँदा नेताद्वयबीच सहमति हुन नसकेको ओली पक्षधर नेताको आरोप छ ।

 

तर, प्रचण्ड पक्षधर नेता भने यो मान्न तयार छैनन् । उनीहरूको तर्क छ, ‘पार्टीमा अध्यक्ष र वरिष्ठ नेताद्वय तथा उपाध्यक्षसहितलाई मिलाएर लैजाने दायित्व कार्यकारी अध्यक्षका हैसियतमा प्रचण्डमा छ, त्यसैले घनीभूत छलफल नभई ओलीसँग उहाँको सहमति हुँदैन ।’


नेकपाको केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयले पार्टी एकतापछि जटिल विषयलाई सधैँ अध्यक्षद्वयको थाप्लोमा फाल्दै आएको छ ।

 
संस्थागत निर्णय लिन नसकेपछि अध्यक्षद्वयको ‘मर्जी’मा चल्दै आएको नेकपाले महाधिवेशनको मिति तय गरे पनि झिना मसिना विवाद मिलाउन नसक्दा कार्यकर्तामाझ सैद्धान्तिक बहस  गर्न सकेको छैन ।

 

अध्यक्षद्वयबीचको जारी छलफल टुंगोमा नपुगेसम्म पार्टी र सरकार दुवैका गतिविधिले रफ्तार लिन नसक्ने नेकपाका नेताहरू बताउँछन् ।