close

कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीको राखी

कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीको राखी

Trulli
ADVERTISEMENT

काभ्रे– कोरोना संक्रमित भएपछि काभ्रेको भकुन्डेबेँसीस्थित जनक क्याम्पसमा रहेको आइसोलेसनमा बसेका बिरामी आइतबार बिहान निकै खुसी देखिए । 
चाडपर्वको समय घरमा नभई आइसोलेसनमा भर्ना भएर बस्नुपर्दा नरमाइलो लाग्नु स्वाभाविकै हो ।

 

तर, आइतबार बिहान जब आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीले रक्षाबन्धनको अवसरमा उनीहरूलाई राखी बाँधिदिए, तिनको मुहारमा एकाएक खुसी छायो ।
जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर खुसीयाली साथ मनाइरहँदा आइसोलेसनमा बसेका बिरामीका लागि पनि स्वास्थ्यकर्मीले खुसी बाँड्ने काम गरेका हुन् । 

 

‘उहाँहरूलाई चाडपर्वको समय एक्लोपन महसुस नहोस् भनेर राखी बाँधिदिने र टीका लगाइदिने काम गरेका हौँ,’ आइसोलेसन केन्द्रकी इन्चार्ज मथुरा सत्यालले भनिन्, ‘हामीले राखी तथा रक्षाबन्धनको डोरो लगाइदिँदा उहाँहरूले धेरै खुसी व्यक्त गर्नुभयो ।’

 

पिपिई सेटसहित खटिएका स्वास्थ्यकर्मीले आइसोलेसनमा भर्ना भएका बिरामीलाई स्वास्थ्य मापदण्ड पालनासहित तिनको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै राखी र टीका लगाइदिएका थिए । 

 

बिरामीले आफूहरू आइसोसेलनमा भर्ना हुनुपरे पनि घरमै बसेजस्तो महसुस भएको प्रतिक्रिया दिए । आइसोलेसनमा ३० वर्षदेखि ७६ वर्षसम्मका बिरामी भर्ना भएका छन् । आइसोसेलनमा भर्ना भएका बिरामीलाई राखी बाँधिदिएका स्वास्थ्यकर्मीले पनि एकआपसमा राखी बाँध्दै सुस्वास्थ्यको कामना गरे ।

 

नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्त रूपमा उक्त आइसोलेसन केन्द्रको स्थापना गरेका हुन् । उक्त आइसोलेसन केन्द्रमा हाल १० जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् । 

 

उनीहरूको उपचारदेखि खानपिनसहित सबै व्यवस्थापन दुवै पालिकाले संयुक्त रूपमा हेर्दै आएका छन् । दुवै पालिकाबाट स्वास्थ्यकर्मी परिचालन गर्ने गरिएको छ । हाल रहेका १० जनासहित आइसोलेसनमा गत वैशाखयता १ सय ६० जना भर्ना भइसकेका छन् ।