close

सप्तरीमा ‘रेड लेडी’ मेवा खेती

सप्तरीमा ‘रेड लेडी’ मेवा खेती

Trulli
ADVERTISEMENT

सप्तरी - सप्तरीमा व्यावसायिक मेवा खेती गर्ने किसानको घरआँगनमा मेवाका बोट छन्, तर बिक्री गरिन्न । व्यावसायिक खेती नहुँदा उत्पादित मेवा घरायसी प्रयोजनमा खपत हुने गरेको छ । नेपाली बजारमा ८५ प्रतिशत बढी मेवा भारतबाट आयात हुने गरेको छ । सप्तरीका बजारमा पनि मेवा भारतबाटै आयात गरिन्छ ।


तर, सप्तरीमा पहिलो पटक व्यावसायिक रुपमा संयुक्त मेवा खेती सुरु भएको छ । कञ्चनरुप नगरपालिका वडा– १२ धर्मपुरमा दीपक गुप्ता, पिताम्बर कर्ण र अनिल प्रधानले संयुक्त रुपमा व्यावसायिक मेवा खेती सुरु गरेका हुन् । 


स्वास्थ्यका लागि गुनिलो फल मेवाको बजार विस्तारमा किसानले रुचि नदेखाउँदा भारतीय मेवाकै भर पर्नुपर्ने अवस्था छ । व्यावसायिक रुपमा मेवा खेती सुरु गरेपछि त्यसको उत्पादन जिल्ला र बाहिर पनि बेच्ने योजना रहेको उनीहरू सुनाउँछन् । 


नेपालकै उत्पादनले बजारको माग पूरा गर्न संयुक्त रुपमा मेवा खेती सुरु गरिएको व्यवसायी  अनिल प्रधानले बताए । ‘त्यसका लागि ४ महिनाअघि भारतको कोलकाताबाट ‘रेड लेडी’ प्रजातिको बिरुवा ल्याएर ५ बिघा जग्गा भाडामा लिएर मेवा खेती सुरु गरेका छौं । यसले उत्पादन दिएपछि बजारमा पठाउने हो,’ प्रधानले भने ।


स्थानीय स्तरमा प्राविधिक अभाव रहे पनि १९ लाखको लगानीमा ४ हजार बोट रोपेर रेखदेख गर्दै आएको उनीहरू बताउँछन् । एउटै बोटमा करिब ५० देखि ६० किलोसम्म फल लाग्ने ताइवानी मेवामा अहिले फुल लाग्न सुरु भइसकेको छ । 


उत्पादित मेवा काठमाडौं, पोखरा, धरान, विराटनगर, जनकपुरलगायतका बजारसम्म पठाउने व्यवसायीहरूको योजना छ । सप्तरीका बजारमा ६० देखि ६५ रुपैयाँ प्रतिकिलोको दरले मेवा बिक्री हुँदै आएको छ ।