close

कर्णालीमा नाम मात्रैको हेल्लो मुख्यमन्त्री सेवा

कर्णालीमा नाम मात्रैको हेल्लो मुख्यमन्त्री सेवा

Trulli
ADVERTISEMENT

सुर्खेत– कर्णाली प्रदेश सरकारले स्थापना गरेको ‘हेलो सिएम’ (हेलो मुख्यमन्त्री) सेवा प्रभावकारी नभएपछि चौतर्फी आलोचना सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थापना गरिएको उक्त हटलाइन सेवामा प्रत्येक वर्ष गुनासा बढ्नुको साटो घट्दै गएपछि प्रश्न उठेको हो । 


तीन वर्षअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालीकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसीकोट नगरपालिकाका दीपक बाँठा मगरको प्रतिक्रिया लिएर हटलाइन सेवा उद्घाटन गरेका थिए । 


हेलो मुख्यमन्त्री सेवा उद्घाटन भएपछि धेरै गुनासा आए पनि पछिल्लो समय यस्तो क्रम घट्दै गएको छ । जनताका गुनासो सुन्नकै लागि कर्णाली प्रदेश सरकार गठन भएकै वर्ष हेलो मुख्यमन्त्री सेवाका लागि नीति तथा कार्यक्रममा प्रत्येक वर्ष ५ लाख रुपैयाँ छुट्याउने गरिएको छ । तर, यो रकम बालुवामा पानी खन्याएजस्तै भएको नागरिकको गुनासो छ । 

 

पहिलो वर्ष खानेपानीसम्बन्धी हेलो मुख्यमन्त्री हटलाइन कक्षमा गुनासो राखे पनि अहिलेसम्म समाधान नभएको दैलेखका हरि भण्डारी बताउँछन् । ‘मुख्यमन्त्री हटलाइन सेवा सुरु भएपछि अब हाम्रा पनि समस्या समाधान हुने भए भनेर आशा जागेको थियो,’ उनले भने, ‘हटलाइन सेवा सुरु भएको केही दिनमा दैलेखबाट खानेपानीसम्बन्धी गुनासो राखेको थिएँ । अहिलेसम्म सुनुवाइ भएन ।’

 

हटलाइन सेवा प्रभावकारी नहुँदा गुनासा घट्दै 

हेलो मुख्यमन्त्री हटलाइन कक्ष स्थापना भएको वर्ष दिनहुँ गुनासा आए पनि पछिल्लो समय गुनासा आउने क्रम घट्दै गएको छ । मुख्यमन्त्री हटलाइन कक्ष सुरु भएको वर्ष १६० वटा गुनासा आए । नागरिकले गरेका गुनासा प्रभावकारी रूपमा समाधान नभएपछि घट्दै जाँदा प्रश्न उठाएका हुन् । 


कार्यालयमा व्यवस्था गरिएको हेलो मुख्यमन्त्री कक्षमा उद्घाटनको समय धेरै गुनासा आए पनि पछिल्लो समय कमै आउने गरेका छन् । पहिलो वर्ष १६० वटा गुनासो आएकामा घट्दै गएर अहिले २७ मा झरेको छ ।

 

पछिल्लो समय गुनासो आउने क्रम घट्दै गएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना प्रविधि तथा समन्वय शाखा अधिकृत ज्योति शाहीले जानकारी दिइन् । ‘हटलाइन सेवा सञ्चालन भएको पहिलो वर्ष १६० वटा गुनासा आएका थिए । अहिले कमै मात्र आउँछन्,’ उनले भनिन्, ‘पछिल्लो समय कोरोना महामारीले पनि कम गुनासा आएका हुन सक्छन् ।’

 

गत आर्थिक वर्षमा २७ वटा मात्र गुनासो परेकामा सम्बोधनका लागि सम्बन्धित निकायमा लेखिपठाउने गरिएको र प्रदेश सरकार मातहतका कार्यालयमार्फत सम्बोधन गर्न सकिने गुनासा सम्बोधन भइरहेको शाहीको दाबी छ ।
गत २०७७÷७८ मा आएका गुनासामध्ये २५ सम्बोधन भइसकेका र दुई वटा बाँकी रहेको उनले जानकारी दिइन् । 

 

नागरिकले धेरैजसो गुनासो मुख्यमन्त्री रोजगारसम्बन्धी गर्ने गरेका छन् । यीमध्ये १४ वटा गुनासा छन् । कोभिड व्यवस्थापन, विपद्, विभिन्न मन्त्रालयका गतिविधि र कार्यक्रम, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, अनियमिततासम्बन्धी गुनासा आउने गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

 

हेलो मुख्यमन्त्री हटलाइन सेवाअन्तर्गत १०९६ नम्बर व्यवस्था गरिएको छ । जनस्तरबाट आएका गुनासा तथा सुझावलाई उक्त हटलाइन सेवामार्फत सम्बोधन गर्ने उद्देश्यका साथ स्थापना गरिएको सेवा प्रभावकारी नभएको नागरिकको गुनासो छ । 

प्रदेश सरकारले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रममा उक्त हटलाइन सेवा प्राथमिकतामा परे पनि यसको प्रभावकारिता नहुँदा चौतर्फी आलोचना भइरहेको छ ।