close

नमोबुद्धमा बालबालिका लक्षित घरदैलो आँखा परीक्षण

नमोबुद्धमा बालबालिका लक्षित घरदैलो आँखा परीक्षण

Trulli
ADVERTISEMENT

काभ्रे–काभ्रेको नमोबुद्ध नगरपालिकाका बालबालिकालाई लक्षित गर्दै निःशुल्क घरदैलो आँखा परीक्षण अभियान सञ्चालन गरिएको छ । नमोबुद्ध नगरपालिका र सेवा फाउन्डेसनको सहकार्य तथा रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाको आयोजनामा अभियान थालिएको हो ।

 

मंगलबारबाट सुरु भएको अभियान दुई महिनासम्म नगरका सबै वडा र टोलमा सञ्चालन हुनेछ । कोरोना महामारीका कारण बालबालिका विद्यालय नगई अनलाइन कक्षामार्फत पढिरहेका कारण आँखामा समस्या देखिन थालेको अवस्थालाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको हो ।

 

अभियानका क्रममा बालबालिका मात्रै नभई युवा र वृद्धवृद्धाको पनि आँखा परीक्षण हुनेछ । अभियान उद्घाटन गर्दै नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले अनलाइन कक्षाका कारण बालबालिकाको आँखामा समस्या देखिन थालेकाले त्यसलाई न्यूनीकरण गर्न अभियान थालिएको बताए ।

 

नगरबासीको स्वास्थ्य समस्या समाधानका लागि नगरपालिका लागिपरेको बताउँदै तिमल्सिनाले यो अभियानबाट सबै नगरबासी लाभान्वित हुने अपेक्षा रहेको सुनाए । उनले यही वर्ष नगरपालिकाले श्रवणशक्ति कम भएका व्यक्तिका लागि निःशुल्क कान सुन्ने मेसिन उपलब्ध गराउने, विद्यालय जाने बालबालिकाको निःशुल्क बिमा गराउने तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम अघि सारिएको जानकारी दिए ।

 

कोभिड–१९ को महामारी रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले काम गरिरहेको एवं मेथिनकोट अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउन सफल भएको र अब चाँडै त्यसलाई सय बेड क्षमताको अस्पताल बनाइने उनले बताए । 

 

नगरका सबै वडामा स्वास्थ्य संस्थाका लागि आवश्यक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको पनि नगरप्रमुख तिमल्सिनाको भनाइ छ । नगरप्रमुख तिमल्सिनाले नगरपालिकाका कृषि अनुसन्धान केन्द्र, स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना प्रक्रियासमेत अघि बढिसकेको जानकारी दिए । 

 

कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नम्बर ७ का अध्यक्ष धर्मसिं लामाले शिविर सञ्चालनका लागि पहलकदमी लिएकामा नगरप्रमुख तिमल्सिनालाई धन्यवाद दिए । वडाका टोलबस्तीमा शिविर सञ्चालनका लागि सहकार्य गरिने र आवश्यक सहयोग गरिने उनको भनाइ छ । 

 

कार्यक्रममा रेयुकाई मासुनागा आँखा अस्पतालका महासचिव हिरामणि शर्माले अस्पतालबाट खटिने पाँच जनाको टिमले २ देखि ३ महिनासम्म नगरका सबै वडा र टोलमा घरदैलो कार्यक्रममार्फत आँखा परीक्षण गर्ने जानकारी दिए ।

 

उनका अनुसार परीक्षणका क्रममा चस्मा तथा औषधी आवश्यक पर्ने बालबालिकालाई निःशुल्क उपलव्ध गराइनेछ भने थप उपचार आवश्यक परे अस्पतालको भकुन्डेबेँसी सेवा केन्द्र र बनेपास्थित अस्पतालमा उपचार गरिनेछ ।

 

यस्तै, मोतियाबिन्दुको उपचार गर्नुपर्ने वृद्धवृद्धाको बनेपामा निःशुल्क उपचारको व्यवस्था गरिने शर्माले जानकारी दिए ।अन्धोपन निवारणमा सक्रिय पहिलो नगरपालिकाको रूपमा नमोबुद्ध नगरपालिका रहेको र नमोबुद्ध र आँखा अस्पतालको सहकार्यमा मोतियाबिन्दु न्यूनीकरण अभियान तीन वर्षदेखि सञ्चालन भइरहेको शर्माले बताए ।

 

कार्यक्रममा आँखा अस्पतालका सल्लाहकार अशोक श्रेष्ठ, कार्यक्रमका टिम लिडर अनिल लामालगायत उपस्थित थिए ।