close

दिप्रुङ चुइचुम्माले आफ्नै भवन बनाउने 

दिप्रुङ चुइचुम्माले आफ्नै भवन बनाउने 

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पक्की प्रशासनिक भवन निर्माणको तयारी थालेको छ । १ वर्षअघि प्रि–फ्याब भवन बनाएको गाउँपालिकाले सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयसँगको सहकार्यमा ३ तले पक्की भवन निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

 

गाउँपालिकाको ४० प्रतिशत र सामान्य प्रशासन मन्त्रालयको ६० प्रतिशत लगानीमा आगामी चैत मसान्तसम्म पूरा हुने गरी भवन निर्माण तयारी गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए । 


४ करोड ९५ लाख ९७ हजार ७ सय १५ रुपैयाँ लागत अनुमान गरिएको भवन ३ करोड ६४ लाख ६१ हजार ८ सय १९ रुपैयााँ निर्माण गर्ने गरी गत असार २९ मा निर्माण कम्पनी रबिना एन्ड अबिसा कन्स्ट्रक्सन जेभी काठमाडौंसँग सम्झौता भएको उनले बताए ।


दिप्रुङ चुइचुम्मा–५ सछितापोखरीको याङ्सोलाटारस्थित गाउँपालिकाको केन्द्रमा प्रशासनिक भवन निर्माणका लागि लकडाउनकै समय प्रक्रिया थालिएको थियो । 


‘दिप्रुङमा सभाहल, कार्यपालिकाको बैठक कक्ष, न्यायिक समितिको इजलास, अध्यक्ष÷उपाध्यक्षको कार्यकक्ष, प्रशासनिक फाँट, वडाध्यक्ष तथा उनका प्रतिनिधि बस्ने कक्ष, क्यान्टिनलगायतका संरचना भएको भवन निर्माण गर्दै छौं’, गाउँपालिका अध्यक्ष राईले भने ।


पक्की भवन निर्माणका लागि ८० लाख विनियोजन गरेर डीपीआर तयार भइसकेको अवस्थामा संघीय सरकारले स्थानीय तहको प्रशासनिक भवन निर्माणका लागि साझेदारी गर्ने कार्यविधि बनाएको उनको भनाइ छ । त्यसपछि मन्त्रालयसँगको साझेदारीमै भवन बनाउन लागिएको अध्यक्ष राईले बताए । 


भवन निर्माणका लागि गाउँपालिकाले गत जेठ ९ मा टेन्डर खुलाएको थियो । भवनको भुइँतला अपांगमैत्री हुनेछ भने माथिल्लो तला उक्लिन लिफ्टसमेत राखिने गाउँपालिकाले जनाएको छ ।
भवनअगाडि सेवाग्राहीका लागि फ्री–वाईफाईसहितको प्रतीक्षालय निर्माण गरिने डीपीआरमा उल्लेख छ ।