close

पोखरा महानगरद्वारा त्रिवर्षीय आवधिक योजनाबारे छलफल 

पोखरा महानगरद्वारा त्रिवर्षीय आवधिक योजनाबारे छलफल 

Trulli
ADVERTISEMENT

पोखरा– पोखरा महानगरपालिका सहरी योजना आयोगले तयार गरेको त्रिवर्षीय योजनामाथि छलफल गरेको छ। महानगरले मंगलबार सरोकारवाला तथा योजनाविद्को  उपस्थितिमा यस योजनामाथि विषयगत छलफल गराएको हो 

 

योजनामा महानगरपालिकाको द्रुत र दिगो विकासका लागि आर्थिक, सामाजिक, लोकतन्त्र तथा सुशासन, भौतिक पूर्वाधारजस्ता विषय समेटेर त्रिवर्षीय योजना (२०७८\ ७९–२०८०\ ८१) तयार गरिएको महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा रामचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार योजनाले समाजवाद उन्मुख समाजको निर्माणको लागि पोखराको आर्थिक र सामाजिक विकासको मोडल तयार गरेको छ । 

 

नेपालको संविधान २०७२, दिगो विकास लक्ष्य २०३० लाई पोखरा महानगरपालिकाको सन्दर्भमा स्थानीयकरण, संघीय सरकारको भिजन २१००, पन्ध्रौँ पन्ञ्चवर्षीय योजना, गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनालाई आधार मानेर पोखरा महानगरपालिकाले तीन वर्षीय योजना तयार गरिएको उनको भनाइ छ । महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले सुखी नेपाली, समृद्ध नेपालमा आधारित रहेर पोखरा महानगरको त्रिवर्षीय योजना तयार गरेको र यस योजनाले आगामी विकासका कार्यक्रमलाई सहयोग पुग्ने लक्ष्य लिएको बताइन् । 

 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले महानगर स्थानीयवासीको आशा, भरोसा र विकासको केन्द्रबिन्दु भएकाले त्यसअनुरुपका योजनाको प्राथमिकीकरण गर्ने बताए । उनका अनुसार राष्ट्रिय योजना आयोगले तयार गरेको मार्गनिर्देशनानुसार ३५ वटा योजनाका विषय र त्यसका विषयगत क्षेत्रलाई समेटेर तयार गरिएको छ । 

 

छलफलमा पर्यटन अध्येता श्रीकान्त खतिवडा, सुदृढ नेपाल परियोजनाका सहजकर्ता दामोदर गिरी, परियोजनाका सल्लाहकार कृष्ण ज्ञवालीलगायतले सम्बन्धित विषयवस्तुमा प्रस्तुती दिएका थिए ।