close

४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराउँदै व्यास नगरपालिका 

४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराउँदै व्यास नगरपालिका 

Trulli
ADVERTISEMENT

दमौली– तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय १ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय १ लाखका दरले ४९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । 

 

प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । उक्त रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्नेछन् । ‘उक्त कार्यका लागि विद्यालयलाई प्रस्ताव पेश गर्न आह्वान गरेका थियौँ, विद्यालयले पेस गरेको प्रस्तावका आधारमा सबै विद्यालयलाई रु एक लाखका दरले उपलब्ध गराउने निर्णय भएको छ’, श्रेष्ठले भने । 

 

नगरपालिकाले यही भदौ १३ गतेदेखि प्रत्यक्ष कक्षा सञ्चालन गर्ने गरी जिल्ला संकट व्यवस्थापन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ बमोजिम जोखिम क्षेत्रको विश्लेषण गरी लकडाउन गर्ने र विद्यालयमा सकभर अनलाइन कक्षा सञ्चालन हुन नसकेमा २५ जनाभन्दा बढी कक्षामा नरहने गरी विद्यालय खुलाउने तयारी गरिएको हो । 

 

‘सकेसम्म अनलाइन नै सञ्चालन गर्ने हो, तर अनलाइन कक्षा सञ्चालन हुन नसक्ने विद्यालयका हकमा २५ जना विद्यार्थी राखेर पठनपाठन सुरु गराउन समितिमा सिफारिस गरिएको छ’, श्रेष्ठले भने । बैठकले नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण बेरोजगार महिलालाई उद्यमशीलता अनुदान उपलब्ध गराउन भदौ महिनाभित्र वडाको सिफारिससहित प्रस्ताव पेश गर्न आह्वान गरेको छ । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि  २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वडा ६, १०, ११, १३ र १४ मा सो कार्यक्रम सञ्चालन गरिनेछ ।

 

बैठकले नगरपालिकाभित्र विपद्बाट असर पुगेका खेत, कुलो, घरलगायतका विषयमा प्राप्त वडागत प्रतिवेदनमाथि छलफल गरी वडाको सिफारिसमा विपद्बाट असर पुगेका लाभग्राहीलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।