close

पञ्चेबाजा बजाउँदै कर उठाउन निस्कियो कामपा 

पञ्चेबाजा बजाउँदै कर उठाउन निस्कियो कामपा 

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिका २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा पुगेको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत करदाता सम्पर्कमा नआएपछि बाजा बजाउँदै टोलटोलमा पुगेको हो ।

 

आज महानगरले पञ्चेबाजासहित नयाँबजार, न्युरोड, दरबारमार्ग लगायतका स्थानका करदाताको कार्यालय परिसरमा पञ्चेबाजासहितको अभियान सञ्चालन गरेको छ । कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउने उद्देश्यका साथ महानगर बाजा बजाउँदै कर उठाउने निस्केको हो ।  महिलाहरुको समूहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आहृवान गर्छ ।

 

यसअघि महानगरपालिकाले गत असार १६ गते र साउनको अन्तिम साता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो ।

 

महानगरले सार्वजनिक सूचना, आवश्यकताका आधारमा निवेदन, फोनमार्फत पटकपटक जानकारी गर्दा पनि धेरैले अटेर गर्दै आएका छन् । दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले व्यवास्ता गरी सम्पर्कमा पनि नआउने र विवरणसम्म पेस नगरेकाले महानगरले ताकेता गर्नुपरेको राजस्व महाशाखा प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए ।  

 

आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमअनुसार महानगरबाट दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने र अझै आलटाल गरिरहे थप समस्या हुने जनाउँदै कामपाले इमान्दार भएर कर तिर्न निजी र अर्धसरकारी संघ संस्थालाई अनुरोध गरेको छ । कर तिर्न सूचना जारी गरेपछि कामपाले हालसम्म करिब ३ करोड रुपैयाँ बक्यौता रकम असुल गरेको छ । 

 

सेवा बन्द गरिँदै

कर नतिरी सम्पर्कसम्म नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।

 

राजस्व महाशाखा प्रमुख डा अघिकारीले भने, ‘अटेर गर्नेलाई कानूनी कारबाही चलाउनुबाहेक विकल्प छैन, अनुरोध र सूचनाको अटेर गर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गरी महानगरबाट दिइने सबै सेवा बन्द गर्ने हो ।’

 

करदाताकै सहजताका लागि महानगरले गत वर्ष असोज १ गतेदेखि अनलाइन प्राणलीमार्फत राजस्व सङ्कलन गर्दै आएको छ । हाल अनलाइनमा १६० करदाता जोडिएका छन् ।