close

कांग्रेसमा घरझगडा : अनशनमा पौडेलले साथ दिएपछि संस्थापनमा खैलाबैला

कांग्रेसमा घरझगडा : अनशनमा पौडेलले साथ दिएपछि संस्थापनमा खैलाबैला

Trulli
ADVERTISEMENT

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा संस्थापन पक्ष र वरिष्ठ उपसभापति रामचन्द्र पौडेल पक्षबीच खिचातानी सुरु भएको छ । कांग्रेसमा देउवा–पौडेल पक्षकै सहमतिमा पार्टी सदस्यता क्रियाशील विवाद टुंगिएको घोषणा तीन दिनअघि मात्र गरिएको थियो ।

 

तर, यो विवाद छिनाफानो भएको भनिए पनि कोइराला परिवारको टेको पाएको वरिष्ठ उपसभापति पौडेल पक्षका जिल्ला सभापतिहरूले केन्द्रीय कार्यालयमा रिले अनशन सुरु गरेपछि विवाह सतहमै देखिएको हो ।

 

बुधबार मात्रै काभ्रे जिल्ला सभापति मधु आचार्य, धादिङ जिल्ला सभापति रमेश धमला, नुवाकोट जिल्ला सभापति जगदीश्वरनर सिंह केसी, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ नेता डिल्लीराज सुवेदी पार्टीमा क्रियाशीलता विवाद अन्त्य नभएको दाबीसहित अनशन बसेका छन् । अनशनकारीले क्रियाशील सदस्यता सार्वजनिक गर्न संस्थापन पक्षलाई आग्रह गरेका छन् ।

 

‘क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदनमा केन्द्रबाटै सदस्यता थपघट गर्ने काम भइरहेको छ,’ नुवाकोट जिल्ला सभापति केसीले भने, मतदाता सूचीमा आफ्नो नाम भए–नभएको हरेक क्रियाशील सदस्यले थाहा पाउनुपर्छ । हामीले भनेको सुनुवाइ नभएपछि संस्थापन पक्षलाई दबाब दिन अनशन बसेका हौँ ।’

 

अनशन बसेकै दिन बुधबार ऐक्यबद्धता जनाउन पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. रामशरण महत, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडु, दीपक गिरीलगायत संस्थापन इतर समूह सानेपा पुगेको हो ।

 

सानेपामा अनशनकारीलाई साथ दिएपछि संस्थापन पक्ष देउवा समूहले निको नमानेको स्रोतको दाबी छ । रोचक के भने पौडेल पक्षका नेता मिनेन्द्र रिजालसहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखकले सोमबार राती मात्रै विवाद टुंगो लगाएर सभापति देउवा र वरिष्ठ नेता पौडेललाई प्रतिवेदन बुझाएका थिए । उतिबेला पौडेलले पनि पार्टी सदस्यता विवादमा सहमति भएको सुनाएका थिए ।

 

करिब ९ लाख क्रियाशील सदस्यताको छानबिन गरेको लेखक नेतृत्वको छानबिन समितिले अधिकांश विवाद सल्टाएको बताइएको थियो । तर, केही क्षेत्रको विवाद सुल्झाउने जिम्मा नेतात्रय सिटौला, लेखक र रिजाललाई दिइएको छ । उनीहरूले विवाद टुंगिएको दाबीसहित प्रतिवेदन बुझाए पनि पौडेल पक्षधर अनशन बसेपछि कांग्रेसभित्रको घर झगडा छताछुल्ल भएको छ ।

 

आफैंले सहमति जनाएको सदस्यता विवाद उचालेर पौडेल पक्षका जिल्ला सभापतिहरू रिले अनशनमा बस्नु र संस्थापन पक्षधरले विरोध जनाउनुले कांग्रेसमा दुई पक्षबीचको तुष नमेटिएको संकेत देखिएको छ । 

 

पौडेल पक्ष सानेपा पुग्नुअघि चाक्सीबारीस्थित गणेशमान पुत्र सिंह निवासमा छलफल भएको थियो । उनीहरूले निर्वाचन समितिमा रहेका आफू पक्षधर सदस्यसँग बाक्लो छलफलसमेत गरेका थिए । छलफलमा निर्वाचन समिति सदस्यहरूले संस्थापन पक्षले क्रियाशील सदस्यता सूची सार्वजनिक नगरेकाले शंका उब्जिएको बताएका थिए ।

 

पौडेल पक्षधर कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले भने, ‘समितिले अधिवेशन गराउन कम्तीमा ११ दिनको समय चाहिन्छ भनेको छ, तर क्रियाशील सदस्यता सूची दिइएको छैन । यसमा शंका छ । त्यसैले साथीहरू अनशन बस्नुभएको हो । यसमा पार्टी सभापतिले विचार गर्नुपर्छ ।’

 

कांग्रेसमा विवादित निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंग्याउन १२ भदौको समयसीमा तोकिएको थियो । तर, त्यसपछि बाँकी ६ दिनमा अधिवेशन हुनेमा पौडेल समूहका नेताहरूको आशंका छ ।

 

‘सभापतिले चुनाव हुन्छ–हुन्छ भन्नुभएको छ, तर पार्टी मातहतका संयन्त्रबाट त्यो गाँठो फुकेको छैन,’ जिल्ला सभापतिको रिले अनशनमा ऐक्यवद्धता जनाउँदै वरिष्ठ नेता पौडेलले भने, ‘क्रियाशील सदस्यता टुंगो नलागी चुनाव कसरी हुन्छ ? सबै विवाद किनारा लगाउन पार्टी सभापतिले पहल गर्नुपर्छ । एकलौटी गर्न पाइन्न ।’

 

क्रियाशील सदस्यताको विषयमा प्रतिबद्ध भए पनि तत्काल सदस्यता सूची सार्वजनिक गर्नुपर्ने जिल्ला सभापतिको माग पनि जायज भएको वरिष्ठ नेता पौडेलले सुनाए । ‘क्रियाशील सदस्यता विवरण सबै तहका पदाधिकारी, वडादेखि क्षेत्र, केन्द्रसम्मकाले हेर्न पाउनुपर्छ । केही कमजोरी त्रुटि भए सच्याउनुपर्छ,’ वरिष्ठ नेता पौडेलले भने ।

 

पार्टी मुख्यालयमै पौडेल पक्षधरका जिल्ला सभापतिलाई अनशन बस्न लगाएकामा संस्थापन पक्षले आपत्ति जनाएको छ । पार्टी नेतृत्वले महाधिवेशन गराउन नचाहेको भ्रम फैलाउन पौडेल पक्षधर जिल्ला सभापतिहरूलाई जानीजानी अनशन बस्न लगाइएको संस्थापन पक्षको दाबी छ ।

 

जिल्लामा अधिवेशनका लागि पहल गर्नुपर्नेमा जिल्ला सभापतिहरू नै पौडेलको इशारामा पार्टी मुख्यालयमा धर्नामा बस्नुले उनीहरू अधिवेशनको पक्षमा नरहेको प्रस्ट हुने देउवा निकट एक केन्द्रीय सदस्यले बताए ।

 

‘जिल्लामा बसेर अधिवेशनमा जुट्नुपर्ने बेला जिल्ला सभापतिहरू पार्टी कार्यालयमा धर्नामा बसेका छन्,’ ती केन्द्रीय सदस्यले भने, ‘तोकिएको समय महाधिवेशन हुन नदिने तर नेतृत्वले महाधिवेशन गराउन चाहेन भनेर भ्रम फैलाउने काम गरिएको
छ ।’

 

क्रियाशील सदस्यतामा सहमति भइसकेपछि पनि नेता पौडेल नै अनशनमा सहभागी हुनु आश्चर्यजनक भएको सहमहामन्त्री डा. प्रकाशशरण महत बताउँछन् । ‘वरिष्ठ नेता पौडेल सहभागी कार्यक्रममै तीन दिनअघि क्रियाशील सदस्यतामा सहमति भएको थियो । अब सबै कुरा टुंगियो । महाधिवेशनमा जाने भनेर शीर्ष नेताहरूबीच कुराकानी भयो,’ उनले भने, ‘सहमतिमै भएको विषयलाई नजरअन्दाज गरेर आन्दोलन गर्ने ?’

 

सह–महामन्त्री महतले १८ भदौमै वडा अधिवेशन हुने दाबी गरे । अधिवेशन तोकिएकै समयमा गर्न मतदान अधिकृतहरू जिल्ला–जिल्लामा जाने उनको भनाइ छ ।