कर उठाउन बाजा बजाउने महानगरले फोहोर उठाउनुपर्दैन ! 


  • change font
  • change font
  • change font

काठमाडौं महानगरले घरजग्गा तथा सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट कर असुल्न पञ्चैबाजासहित घरदैलो गरिरहेको छ । कर असुल्न बाजा बजाएर निस्किएको संघीय राजधानीसमेत रहेको महानगरले दुई सातादेखि सडकमा थुप्रिएको फोहोर भने उठाउन सकेको छैन । ३२ साउनमा  महानगरबासीलाई घरबाहिर फोहोर ननिकाल्न उर्दी जारी गरेको महानगरले अझै साता दिन फोहोर उठाउन नसकिने बताएको छ । 


कानुनअनुसार कर असुल्नु महानगरको अधिकार हो । तर, महानगरले तोकेका कर तिरेका तथा फोहोर व्यवस्थापनका लागि छुट्टै शुल्क तिरिरहेका महानगरबासीले कति दिन फोहोरको दुर्गन्धमा नाक थुन्दै हिँड्नुपर्ने हो ? कर उठाउन बाजागाजासहित घरघर पुग्ने महानगरले फोहोर उठाउनुपर्दैन ? महानगरबासीले प्रश्न गरिरहेका छन् । 

 

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषय निकै पेचिलो छ । वर्षौंदेखि महानगरबासीले एकै खाले समस्या भोग्दै आइरहेका छन् । फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न विगतदेखि नै चुक्दै आएको महानगर स्थानीय सरकारका रूपमा रुपान्तरित भइसक्दा पनि समस्या ज्यूँका त्यूँ छ । काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालिन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माण सक्न अझै एक साता दिन लाग्ने बताउँदै महानगरले फोहोर उठाउने भाका पछाडि धकेलेको छ । काठमाडौं उपत्यकामा फोहोर नउठेको यो पहिलो घटना भने होइन । कहिले फोहोर उठाउने कर्मचारीले गर्ने हडताल र कहिले फोहोर फ्याँक्ने क्षेत्रका स्थानीयले गर्ने विरोधका कारण काठमाडौं उपत्यकाका सडकमा फोहोरको थुप्रो पटक\पटक लाग्ने गरेको छ । 


काठमाडौं उपत्यकाकोे फोहोर दुई वर्षका लागि व्यवस्थापन गर्न २०६२ मा नुवाकोटको  सिसडोलमा ल्यान्डफिल साइड निर्माण गरिएको थियो । दुई वर्षका लागि बनाइएको ल्यान्डफिल साइटलाई पटक–पटक विस्तारै गर्दै अहिलेसम्म फोहोर व्यवस्थापन गरिँदै आएको छ । क्षमताभन्दा बढी फोहोर व्यवस्थापन गरिएका कारण सिसडोलमा फोहोरको पहाडै बनेको छ । 

 

दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि नुवाकोट र धादिङ सीमा क्षेत्रको बन्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट (फोहोर प्रशोधनयुक्त स्थल) निर्माण थालिएको लामो समय भइसक्यो । संघीय सरकारले पूर्वाधार निर्माण गर्ने र स्थानीय तहले फोहोर व्यवस्थापनको काम गर्ने भनिएको ल्यान्डफिल साइट हस्तान्तरण नभएका कारण फोहोर व्यवस्थापन गर्न नसकिएको जिकिर महानगरको छ । तर, सिसडोलबाट २ किलोमिटर पर रहेको ल्यान्डफिल साइटसम्म फोहोर बोकेका गाडी जाने सडक अवरुद्ध छ । ल्यान्डफिल साइटसम्म पुग्ने सडक बनाउने जिम्मा  महानगरकै हो । १३ वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५ सय मेट्रिक टन फोहोर निस्किने गर्दछ ।

 

महानगरले फोहोर व्यवस्थापनका लागि ‘ल्यान्डफिल साइट’ बाहेक अन्य विकल्पबारे चासो दिएको छैन । जमिनमा माटोले पुरेर फोहोर व्यवस्थापन गर्ने विधिका धेरै अप्ठेरा हुँदाहुँदै पनि काठमाडौं महानगरले अन्य वैज्ञानिक विधिबारे नसोच्नु महानगरबासीप्रति गैरजिम्मेवार हुनु हो । काठमाडौं उपत्यकामा उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने छुट्याएर मात्रै व्यवस्थापन गर्ने विधि अपनाउने हो भने व्यवस्थापन सहज हुनेछ । उपत्यकाको फोहोर व्यवस्थापन कसरी गर्ने भनेर दर्जनौँ अध्ययन र अनुसन्धानका प्रतिवेदन सार्वजनिक भइसकेका छन् । तर, महानगरले विज्ञहरूले दिएका सुझावलाई मनन् गरेर फोहोर व्यवस्थापनको रणनीति बनाउन सकेको छैन । फोहोर व्यवस्थापनको परम्परागत विधि मात्रै अपनाउने हो काठमाडौं उपत्यकामा फोहोरको डुंगुर लाग्ने समस्या भविष्यमा पनि बल्झिरहने निश्चित छ । 


एसियाली विकास बैंकले सन् २०१३ मा गरेको अध्ययनअनुसार काठमाडौं उपत्यकामा ६६ प्रतिशत अर्गानिक (सड्ने) फोहोर उत्पादन हुने देखिएको थियो । त्यसबाहेक प्लास्टिक १२, कागज ९, सिसा ३, धातु र कपडा २÷२, रबर १ र अन्य ५ प्रतिशत फोहोर निस्कने अध्ययनबाट पत्ता लागेको थियो । कुहिने र नकुहिने फोहोर छुट्याएर  व्यवस्थापन गर्ने नीति लागू गर्ने हो भने महानगरबासी पटक–पटक बल्झिरहने फोहोरको समस्याबाट मुक्त हुने थिए ।