close

श्रीमान् खाडीमा पसिना बगाउँछन्, श्रीमती घरमै बसेर लाखौं कमाउँछन्

श्रीमान् खाडीमा पसिना बगाउँछन्, श्रीमती घरमै बसेर लाखौं कमाउँछन्

Trulli
ADVERTISEMENT

गुल्मी - इस्मा गाउँपालिका–५ बोहोरापानीकी भागीरथी कुँवरले सहकारीमार्फत सबैभन्दा बढी खसीबोका बेचेर २६ हजार नगदै अनुदान पाइन् । उनले सहकारीमार्फत ५ सय ४५ किलो मासु बेचेकी थिइन् । उनको खोरमा दुई वर्ष पहिले २/३ वटा मात्र बाख्रा थिए । अहिले ४० वटा खसीबोका पालेकी छन् ।


१९ वर्ष परदेश बसेका श्रीमान खड्गबहादुर कुँवर २ वर्षदेखि घरमै छन् । त्यसैले कुँवर परिवारमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । अहिले कुँवरलाई उत्कृष्ट अनुदान प्राप्त गर्ने कृषकको रुपमा स्थापित गराएको छ ।


‘श्रीमतीले पहिलेबाटै थोरै बाख्रा पाल्थिन् । म फर्केर त्यसलाई व्यावसायिक बनाएँ,’ श्रीमान् खड्ग कुँवरले भने, उत्कृष्ट अनुदानले अझै मनोबल थपिएको छ ।’  इस्मा–३ दर्लामचौरकी कमला जिसीकोमा पनि डेढ वर्ष पहिलेसम्म ५ वटा माउ बाख्रा मात्रै थिए । अहिले भने ४१ वटा बाख्राले खोर भरिएको छ । 


उनले यो वर्ष मात्रै सहकारीमार्फत ४ सय ४ किलो जिउँदो मासु बेचिन् । त्यसबापत भर्खरै गाउँपालिकाबाट १९ हजार ९ सय ९५ अनुदान पाइन् । श्रीमान सूर्य जिसी ११ वर्षदेखि कतारमा पसिना बगाउँदै छन् । उनले बाख्रापालनबाटै खर्च कटाएर वर्षको एक/डेढ लाख नाफा कमाउँछिन् । गाउँपालिकाको अनुदानले थप उत्साह मिलेको जिसी सुनाउँछन् । 


कुँवर र जिसीहरू इस्मामा व्यावसायिक ब्राखापालनका प्रतिनिधि पात्र हुन् । स्थानीय तहले उत्पादनमा आधारित अनुदानको कार्यक्रम ल्याएपछि कृषकमा कृषि कर्मप्रतिको उत्साह बढेको छ । 


कृषि र पशुपालनमार्फत स्थानीय नागरिकको आर्थिक समृद्धिका लागि इस्मा गाउँपालिकाले गैर सरकारी संस्थासँगकाे दोस्रो चरणको साझेदारीबाट सहकारीमार्फत कृषि उत्पादन र त्यसको बजारीकरणमा काम गरिरहेको गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए । त्यसमध्ये पहिलो काम हो– उत्पादनमा आधारित अनुदान । 


इस्मा गाउँपालिकाले यो वर्ष २ सय ५  कृषकलाई १४ लाख ५९ हजार २ सय ५१ रुपैयाँ अनुदान वितरण गरेको छ । सबैभन्दा बढी मासुमा १ सय ८१ ले अनुदान पाएका छन् । दूध र बिमा गरेबापत गाउँपालिकाले अनुदान वितरण गरेको विष्टले जानकारी दिए ।


गाउँपालिकाले मासुको प्रतिकिलो ५० र दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदानको व्यवस्था गरेको छ । आलु, कोदो तथा तरकारी क्षेत्रमा पनि थुप्रै काम गाउँपालिकाले गरेको छ । हेफरमार्फत एकीकृत ग्रामीण विकास समाज र इस्मा गाउँपालिकाको समन्वयमा अमरपुर र इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्थाको सबलीकरण गर्दै गाउँका उत्पादनको बजारीकरण भइरहेको छ । 


करिब १७ सय महिला आबद्ध २ सहकारीले २/२ करोडको आर्थिक कारोबार गर्छन् । गत वर्ष मात्रै सहकारीमार्फत १८ सय ६४ खसीबोका बिक्री भएका छन् । अझै गाउँमा ७ हजार १ सय बाख्रापालन गरिएको छ ।


पशुपालनमार्फत महिलाको आर्थिक उपार्जनमा सहयोग पुगेको साझेदार संस्था एकीकृत ग्रामीण विकास समाजका कार्यकारी निर्देशक कृष्ण विकले बताए । २०७२ सालमा नवप्रभात युवा संघले हेफर इन्टरनेसनलसँगको साझेदारीमा अमरपुर र उत्पीडित समुदाय उत्थान केन्द्रमार्फत इस्मा रजस्थलमा व्यावसायिक बाख्रापालन सुरु गरिएको थियो ।


सो परियोजनाले किसान समूह गठन, मासिक बचत संकलन, बाख्रा वितरण, तालिमलगायतका कार्यक्रममा सहयोग गरेको थियो । अहिले खसीबोका उत्पादन र बजारीकरणमा एकीकृत ग्रामीण विकास समाजले गाउँपालिकासँगको समन्वयमा काम गरिरहेको छ ।


अमरपुरमा अहिले बाख्राको संख्या करिब २ हजार ३ सय पुगेको छ भने इस्मा रजस्थल र दर्लामचौरमा ४ हजार ८ सय बाख्रा रहेको परियोजना संयोजक भरत भण्डारीले बताए । अमरपुर कृषि तथा पशु विकास महिला सहकारी संस्थाले आप्mनो पुँजी करिब ८० लाख पु¥याएको छ भने १ करोड ८३ लाखको कारोबार गर्दै आएको छ ।


सहकारीले गत वर्ष ८८ लाखका खसीबोका खरिद गरेर बेचेको थियो भने दाना बिक्रीबाट ४१ हजार ६ सय ३० र बिमाबापत १ लाख ११ हजार ९ सय ४७ रुपैयाँ सहकारीले आम्दानी गरेको व्यवस्थापक गोमा गौतम जिसीले बताइन् ।  


यस्तै, इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्थाको ७८ लाख ४४ हजार ६ सय १३ पुँजी छ भने २ करोड २२ लाख ३२ हजार ५ सय ८९ बराबरको कारोबार सहकारीले गर्दै आएको व्यवस्थापक तुलसा भण्डारीले जानकारी दिइन् ।


सहकारीले गत वर्ष १ करोड ३४ लाख बराबरको खसीबोका खरिद बिक्री, ११ लाख बराबरको बिउ पाठी खरिद र ५१ हजारको दाना बिक्री गरेको भण्डारीले बताइन् ।