close

बैतडीमा बजार अनुगमन तीव्र, ५ लाख बढीका अखाद्य वस्तु नष्ट

बैतडीमा बजार अनुगमन तीव्र, ५ लाख बढीका अखाद्य वस्तु नष्ट

Trulli
ADVERTISEMENT

बैतडी– चाडपर्वलाई मध्यनजर गरेर बजार अनुगमनमा तीव्रता दिइरहेको संयुक्त बजार अनुगमन समिति बैतडीले बुधबार देहीमाडौं, खोड्पे, विफ्याकटाललगायतका क्षेत्रमा अनुगमन गरेको छ । 

 

बजारमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन कार्यलाई तीव्रता दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए ।
  
अनुगमनका क्रममा बियर, मसला, तेल, नमकिनलगायतका दुई लाख ४७ हजार ३०० रुपैयाँ बराबरका म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरिएको उनले बताए । 

 

उनले भने, ‘बुधबार ४५ वटा किराना पसल, होटल, मेडिकललगायतमा अनुगमन गरेका छौँ । अनुगमनका क्रममा मूल्य सूची राख्न, दर्ता नभएकाहरूलाई सम्बन्धित निकायमा दर्ता गर्न, म्याद गुज्रेका सामग्री बिक्री वितरण नगर्न आग्रह गरेका छौँ ।’


अनुगमनमा पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीलगायतको सहभागिता थियो । जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमनबाट अहिलेसम्म पाँच लाख रुपैयाँ बढीको म्याद गुज्रेको सामग्री बरामद गरी नष्ट गरिएको लेखकले जानकारी दिए । 

 

उपभोग्य वस्तुको उपभोग्य मितिका बारेमा अझै पनि उपभोक्ता सचेत नभएकाले मिति हेरेर मात्र सामग्री खरिद गर्न अनुगमन समितिले आग्रह गरेको छ ।
   
गत ५ असोजदेखि समितिले जिल्लाका सबैजसो बजारहरूमा अनुगमन गरिरहेको छ । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले हरेक दुई महिनामा अनुगमनको योजना बनाएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।  

 

नियमित बजार अनुगमन गरिएमा उपभोक्ताले गुणस्तरीय खानेकुरा उपभोग गर्न पाउनुका साथै बजारमा हुने कालोबजारीसमेत न्यूनीकरण हुने खोड्पे बजार व्यवस्थापन समिति अध्यक्ष हरिश बिष्टले बताए ।