close

सप्तरीका विद्यालय सञ्चालनको तयारी

सप्तरीका विद्यालय सञ्चालनको तयारी

Trulli
ADVERTISEMENT

सप्तरी– कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो । विद्यालय सञ्चालन गर्ने  विषयमा स्थानीय तहका प्रमुखहरू छलफलमा जुटेका हुन् ।

 

जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय सञ्चालनबारे छलफल गरेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए । छलफलमा जिल्लामा हाल कोरोना महामारीको संख्या  देखिएकाले विद्यालय सञ्चालन गर्नेबारे गहनरूपमा बहस भएको जनाउँदै स्वास्थ्य मापदण्डको पालना गरी तत्काल  विद्यालय सञ्चालन गर्न सकिने बताए । उनले भने, ‘हामीले पहिलो चरणमा छलफल गर्‍यौँ, थप छलफल जारी नै छ, अझै निष्कर्षमा पुग्न सकिएको छैन, कोभिड–१९ महामारीका कारण महिनौँदेखि विद्यालय बन्द रहँदा पठनपाठन प्रभावित भएको छ ।’

 

स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमै विद्यालय सञ्चालन गर्ने गरी छलफल भइरहेको सहभागीले बताएका छन् । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जिल्लामा सङ्क्रमणदर घट्दै गएपछि सञ्चालनको तयारी थालिएको जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन पूर्णरूपले प्रभावित भएको छ ।

 

विद्यालय बन्दका कारण बालबालिका घरमा पनि पढाइ लेखाइ बन्द गरेर बसेकाले उनीहरुको भविष्य अन्धकारतर्फ गइरहेको अभिभावकको गुनासो छ  । साथै विद्यालय बन्द हुँदा अधिकांश युवा लागुऔषधतर्फ आकर्षित भएको देखिएको बताइन्छ । त्यस्तै विद्यालय बन्दका कारण पढाइ छाडेर दिनभरि बालबालिका खेल्नमै रुचि राख्नाले उनीहरुको पढाइ प्रभावित भएको शिक्षिका ममता यादवले बताए ।